काठमाडौं।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले काठमाडौं महानगरपालिका–२८ मा निर्माणाधीन काठमाडौं टावरको भवन नक्सापास प्रक्रियामा गम्भीर त्रुटीहरू रहेको बताएका छन्। उनले यस प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको आरोपसमेत लगाएका छन्।
प्रमुख शाहका अनुसार भवन नक्सापासमा देखिएको त्रुटीका कारण महानगरलाई वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति हुने खतरा रहेको छ। केही सीमित व्यक्तिको नाफाका लागि यस्तो नीतिगत भ्रष्टाचार गरिएको दाबी गर्दै उनले विभिन्न प्रमाणहरू महानगरको कार्यालयमा सुरक्षित रहेको र नागरिकले सूचनाको हक प्रयोग गरी ती प्रमाण प्राप्त गर्न सक्ने बताएका छन्।
बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक एक लामो वक्तव्यमा उनले लेखेका छन्, “यसको पूर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त हो, कति लम्ब्याएको! तर, यो त्यति सामान्य छैन।”
उनले थप लेखेका छन्, “यो भवन र नक्सापासको पछाडि धेरै कुरा छन्। कुनै एक घोटलाका लागि कसरी नीतिगत भ्रष्टाचार हुन्छ, कसरी कर्मचारीहरू परिचालित हुन्छन् र कसरी जनप्रतिनिधिहरू पनि प्रभावित बन्छन् भन्ने यो एउटा उदाहरण हो।”