काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा उग्र भई भाँडभैलो गर्न सिकाउँदैन भन्ने स्पष्ट पारेकी छिन्। उनले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटिमण्डपमा आयोजित “युथ सेलिब्रेसन” कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो अभिव्यक्ति दिएकी हुन्।
उपप्रमुख डंगोलले आफूलाई एमाले मनपर्ने कारण खुलाउँदै भनिन्, “एमालेले कसैको घर जलाउन सिकाउँदैन, लुटपाट गर्न युवाको प्रयोग गर्दैन। दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न प्रेरित गर्छ। सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न सिकाउँदैन। एमालेले युवा शक्तिको सकारात्मक प्रयोग गरेर राम्रा कामको प्रचार गर्छ। त्यसैले मलाई एमाले मनपर्छ।”
उनले युवाहरुलाई स्टन्ट गरेर होइन, कर्म गरेर देश बनाउनेतर्फ लाग्न आह्वान गरिन्। “पपुलर बन्न स्टन्ट गर्ने चलन बढेको छ, तर स्टन्ट गरेर देश बन्दैन,” उनले भनिन्, “देश बनाउने हो भने काम गर्ने युवा बनौं।”
डंगोलले वर्तमानमा आफू र आफ्नो पार्टी नेतृत्वमाथि चारैतिरबाट आक्रमण भइरहेको महसुस भएको बताउँदै भनिन्, “जतिसुकै आक्रमण भए पनि हामी विचलित हुने छैनौं। राष्ट्र निर्माणमा एकजुट भएर लाग्नेछौं।”
अन्त्यमा, उनले आफू सधैं आफ्नो पदप्रति बफादार भएर इमानदारीपूर्वक काम गरिरहेको उल्लेख गरिन्।