काठमाडौं ।
सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडिओ सार्वजनिक भएपछि जनस्तरमा चासो र चिन्ता बढेको छ।
सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छन्, जसमा एक व्यक्तिलाई लडाएर बुटले कुटपिट गरिरहेको दृश्य देखिन्छ।
भिडिओमा ती ट्राफिक प्रहरीहरू कागजपत्र भुईँमा फ्याल्दै हिंडेको देखिन्छ।
सडकमा बाक्लो भिडभाड, ‘कीर्तिपुर यातायात’ लेखिएको बस र वरिपरि मोटरसाइकलको चहलपहल देखिएकाले यो भिडिओ काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको छ।
तर, यकिन भने भइसकेको छैन।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख एसएसपी बिनोद घिमिरेले पनि हालसम्म कुटपिटमा संलग्न ट्राफिक प्रहरीको पहिचान नभएको बताएका छन्।
उनले भने, “काठमाडौंकै जस्तो देखिए पनि यकिन भएको छैन। भिडिओमा जाडोमा लगाइने युनिफर्म (ज्याकेट) देखिएकाले यो भिडिओ अहिलेको नभई जाडोयामको हुनसक्छ।”
भिडिओ सार्वजनिक भएपछि घटनाबारे छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।