भूकम्प स्मृति दिवसको अघिल्लो दिन रुकुमपूर्वमा ४.२ म्याग्निच्युडको भूकम्प
भूकम्प स्मृति दिवसको अघिल्लो दिन रुकुमपूर्वमा ४.२ म्याग्निच्युडको भूकम्प
    • बेल संचार

    • १२ बैशाख २०८२, शुक्रबार

काठमाडौं,

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा रुकुमपूर्वको रन्मामैकोट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। पछिल्लो समय पश्चिम नेपालमा लगातार साना प्रकृतिका भूकम्प गइरहेका छन् र यो पनि त्यसैको निरन्तरता भएको बताइएको छ।

भूकम्प स्मृति दिवसको अघिल्लो दिन आएको यो हल्का प्रकृतिको भूकम्पले कुनै क्षति नपु¥याएको प्रारम्भिक विवरणमा उल्लेख छ। यसअघि २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसपछि जाजरकोट क्षेत्र केन्द्रबिन्दु बनाएर निरन्तर साना भूकम्पहरू गइरहेका छन्।

२०७२ को भूकम्पको स्मृतिमा विशेष कार्यक्रम

आज वैशाख १२ गते, अर्थात् गोरखा केन्द्रबिन्दु भएर गएको २०७२ सालको विनाशकारी भूकम्पको ठीक १० वर्ष पुगेको दिन, देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। ७.६ म्याग्निच्युडको उक्त भूकम्पमा ८,९७९ जनाको ज्यान गएको थियो भने २२,३०९ जना घाइते भएका थिए।

सुरक्षित पूर्वाधार निर्माण र नागरिक सतर्कता अभिवृद्धिका लागि हरेक वर्ष वैशाख १२ गते ‘भूकम्प स्मृति दिवस’ मनाइँदै आएको छ। यस वर्षको स्मृति दिवसको मूल कार्यक्रम काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछ।

‘सुरक्षित पूर्वाधार निर्माण गरौं, भूकम्पबाट जोगिऔं’ भन्ने नारासहित मनाइँदै गरेको दिवसले नागरिकमा भूकम्पप्रति चेतना र पूर्वतयारीको सन्देश फैलाउने उद्देश्य राखिएको छ।

साताकाे चर्चित
सम्बन्धित