बारपाकमा भूकम्पको एक दशक : पीडासँगै पुनर्निर्माण र विकासको कथा
बारपाकमा भूकम्पको एक दशक : पीडासँगै पुनर्निर्माण र विकासको कथा
    • बेल संचार

    • १२ बैशाख २०८२, शुक्रबार

गोरखा ।

गोरखा, वैशाख १२ – २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक आज एक दशकपछि स्मृतिसँगै पुनर्निर्माण र विकासको प्रतीक बनेको छ। तर त्यही दिनको सम्झनाले बारपाकवासी अझै पनि आक्रान्त छन्।

६२ वर्षीया धनमाया गुरुङका लागि वैशाख १२ दुःखको दिन हो। गहभरि आँसु पार्दै उनी भन्छिन्, “भदैनीलाई माइतीबाट ल्याएको थिएँ, आँगनमा खेलिरहेकी थिई। घर भत्किएर भूकम्पले लग्यो। दोषी म आफैँजस्तो लाग्छ।”

धनमायाजस्तै सयौं बारपाकवासीका लागि वैशाख १२ अझै पनि भयावह स्मृति बनेर बसेको छ। ३४ वर्षीया डोलमाया घले भन्छिन्, “आकास गर्ज्यो कि मुटु नै चिसो हुन्छ, गाडीको आवाज सुन्दै भूकम्प जस्तै लाग्छ।”

७७ वर्षीया प्याली घलेलाई अहिले पनि ठूलो भूकम्प आउने हो कि भन्ने डर सताइरहन्छ। “बारपाकीहरुको मानसिकतामा ठूलो चोट परेको छ,” उनी भन्छिन्।

५५ वर्षीया कमला गुरुङका अनुसार, “त्यो दिन बारीमा काम गर्दै थियौँ, जमिन हल्लिन थाल्यो, घरहरू धुलोको मुस्लोमा पुरिए।” अहिले नयाँ घर बने पनि त्यो दिन सम्झँदा अझै पनि मन भारी हुन्छ।

भूकम्पले बारपाकमा मात्रै ७२ जनाको ज्यान लिएको थियो भने झण्डै १,५०० घर क्षतिग्रस्त भएका थिए। तर यही विनाशपछिको पुनर्निर्माणले आज बारपाकलाई नयाँ उचाइमा पुर्याएको छ।

स्थानीय जीतबहादुर घले भन्छन्, “भूकम्पले धेरैको ज्यान लियो, घर बिनाको बनायो, तर यसले बारपाकप्रति सबैको ध्यान तान्यो। सडक, खानेपानी, बिजुली जस्ता पूर्वाधार विस्तार भए, विकासको गति बढ्यो।”

हाल बारपाक निजी आवास पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। परम्परागत ढङ्गले बनेका माटो र ढुङ्गाका घरको सट्टा अब पक्की संरचना बनेका छन्। भूकम्पको मिति र समय उल्लेख गरिएको स्मृति स्तम्भ पनि निर्माण भइसकेको छ।

पर्यटनको सम्भावनासमेत बन्दै गएको बारपाक अहिले भूकम्पको केन्द्रबिन्दुका रूपमा मात्र नभई साहस, पुनर्निर्माण र पुनर्जागरणको प्रतीकका रूपमा उभिएको छ।

साताकाे चर्चित
सम्बन्धित