काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्को बेला देखिएको राष्ट्रिय एकता सुशासन र विकासका काममा पनि देखिनुपर्ने बताएका छन्।
२०७२ सालको विनाशकारी भूकम्पको स्मरणमा शुक्रबार काठमाडौँको धरहरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।
“लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो,” उनले भने, “तर प्रतिस्पर्धा स्वस्थ रूपले अघि बढाउनुपर्छ। आलोचना स्वागतयोग्य कुरा हो, तर त्यो सत्य, तथ्य र रचनात्मक हुन आवश्यक छ।”
प्रधानमन्त्री ओलीले झुटा, भ्रामक तथा समाजमा द्वन्द्व पैदा गर्ने प्रकारका आलोचना उचित नहुने उल्लेख गर्दै राष्ट्रिय एकताको भावना झल्किने आलोचना आवश्यक रहेको बताए।
धरहरामा आयोजित कार्यक्रममा उनले भूकम्पपछिको पुनर्निर्माण, विकास र समृद्धिका प्रयासहरूमा पनि सबैको सहयोग र एकता अपरिहार्य रहेको स्पष्ट पारे।