सिँजा गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको घोषणा
सिँजा गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको घोषणा
    • बेल संचार

    • २६ बैशाख २०८२, शुक्रबार

जुम्ला।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सिँजा गाउँपालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ।

स्वास्थ्य शाखा प्रमुख ललितजंग रोकायाका अनुसार, पालिकाभित्रका ० देखि १५ महिनाका २२२ जना बालबालिका तथा १६ देखि ५९ वर्ष उमेर समूहका ५३९ जनाले खोप प्राप्त गरिसकेका छन्। वडा स्तरमा गरिएको सर्वेक्षणमा खोपबाट वञ्चित बालबालिका भेटिएका छैनन्, जसको आधारमा घोषणा गरिएको हो।

कार्यक्रममा सिँजा गाउँपालिकाका कार्यवाहक अध्यक्ष तिर्थ वडले खोप सुनिश्चितताको घोषणा गर्ने पहिलो पालिका बन्न पाएकोमा स्वास्थ्य शाखालाई धन्यवाद व्यक्त गरे। उनले भने, “बालबालिकाले देशको जुनसुकै ठाउँबाट खोप सेवा पाउनु पर्छ।”

जनस्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम सुनैका अनुसार, स्वास्थ्यकर्मीहरू नागरिकका घरमै पुगेर सेवा प्रदान गरेका थिए। उनले जोड दिए, “भविष्यका कर्णधार भनेका वर्तमानका बालबालिका हुन्। यिनको सुरक्षा सबैको साझा जिम्मेवारी हो। बालबालिका सुरक्षित भएनन् भने देशको जनशक्ति हराउनेछ।”

कार्यक्रमको स्वागत मन्तव्य नराकोट स्वास्थ्य चौकीका इन्चार्ज जगत जिसीले राखेका थिए। कार्यक्रममा “खोप निःशुल्क पाइन्छ”, “खोप सुरक्षित छ”, “खोपले जीवनको रक्षा गर्छ” भन्ने नारासहित जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले नराकोट बजार परिक्रमा गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित