काठमाडौं
सिंजा गाउँपालिका पशुपन्छी सेवामा कार्यरत कर्मचारी कलबहादुर रोकायाले आफ्नो जन्मदिनको अवसरमा बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिएका छन्। उनले “हरेक जन्मदिनमा वातावरणप्रति योगदान” भन्ने भावनालाई आत्मसात् गर्दै विभिन्न स्थानमा २५० भन्दा बडी रोपेका हुन्।
रोकायाले सिंजा गाउँपालिका वडा नं. ३ स्थित रोकाया बाडाबाट वडा नं. ५ र ६ तर्फ जाने बाटो किनारमा करिब १०० वटा बैंसको बिरुवा रोपेका छन्। त्यसैगरी, उनले अध्ययन गरेको विद्यालय श्री फुटासिली आधारभूत विद्यालयको परिसरमा करिब ९० देखि १०० को बीचमा दुई जातका फूलका बिरुवा रोपेका छन्।
त्यसैगरी, सिंजा गाउँपालिका वडा नं. ३ मा अवस्थित नराकोट स्वास्थ्य चौकीमा पनि उनले करिब ४०–५० वटा फूलका बिरुवा रोपेका छन्। साथै, हाल आफू कार्यरत सिंजा गाउँपालिकाको पराङगढ क्षेत्रमा पनि उनले बिरुवा रोपण गरेका छन्।
बिरुवा रोपण अभियानबारे उनले भने, “मैले आफ्नो जन्मदिनलाई वातावरण हरियाली बनाउने उद्देश्यले मनाएको हुँ। देशभर जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुनु, अक्सिजनको कमी हुनु, जताततै वन विनाश हुनुजस्ता समस्याहरू देखिएका छन्। अब यी समस्याको न्यूनीकरण गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट कदम चाल्न आवश्यक छ।”
रोकायाले सबैलाई प्रकृतिप्रतिको जिम्मेवारी बोध गर्न आह्वान गर्दै भने, “यदि म जस्तै सबैले आफ्नो स्थानबाट योगदान गरे भने हाम्रो वातावरण हरियाली, स्वच्छ र सुन्दर हुने छ। हामीले पाउने हावा र पानी पनि शुद्ध हुनेछ।”