मुगु ।
पर्यटकीय सम्भावना प्रसस्त रहेको रारा क्षेत्रमा अझै अपेक्षित लाभ लिन नसकिएको भन्दै पर्यटन व्यवसायी र स्थानीय सरोकारवालाहरूले पूर्वाधार विकासमा लगानी बढाउन आग्रह गरेका छन्।
नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान)को सहकार्यमा आयोजित काठमाडौँ–रारा पर्यटक बस सेवा सम्भाव्यता अध्ययन भ्रमणको क्रममा सल्लेरीमा आयोजित अन्तक्र्रियामा सहभागी वक्ताहरूले रारामा पर्यटन सेवा सुधार, स्तरीय होटल निर्माण, तालिम तथा जनशक्तिको विकास अपरिहार्य रहेको बताएका हुन्।
स्थानीय व्यवसायी देवीकृष्ण रोकायाले पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको भन्दै होटल पूर्वाधार र जनशक्तिका लागि थप सहयोग माग गरे। स्थानीय प्रतिनिधि छत्र साउदले रारालाई प्राथमिकतामा राखिएकोमा धन्यवाद व्यक्त गर्दै यसले आर्थिक गतिविधिमा सकारात्मक असर पार्ने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले रारालाई अब संरचनागत रूपमा विकसित गन्तव्यका रूपमा प्रस्तुत गर्न सकिने बताए। उनले नियमित उडान, सडक सञ्जाल र पाहुना व्यवस्थापनमा सुधार आइसकेको बताए।
रारा इको–टुरिज्म र चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै निर्देशक ऐरले अन्तरराष्ट्रिय पर्यटन बजारमा राराको प्रचारमा थप जोड दिनुपर्ने धारणा राखे। टीवान अध्यक्ष भीष्म न्यौपानेले पर्यटक बस सञ्चालनमा केही चुनौती भए पनि सङ्घ तयार रहेको बताए।
भ्रमण टोलीमा टीवानका २२ सदस्यसहित पर्यटन बोर्ड, होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्ज, स्थानीय समुदाय र जनप्रतिनिधिको सहभागिता रहेको थियो।
नेपाल पर्यटन बोर्डले काठमाडौँ–रारा बस सेवा सम्भाव्यता अध्ययनसँगै होटल स्तरोन्नति, सेवा सुधार, जनशक्ति विकास तथा प्रचारप्रसारमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।