एसएसपीबाट डीआईजी बढुवामा प्रतिस्पर्धा चर्किंदै, ‘नमस्कार टोली’ र ‘जयनेपाल टोली’ आमनेसामने
एसएसपीबाट डीआईजी बढुवामा प्रतिस्पर्धा चर्किंदै, ‘नमस्कार टोली’ र ‘जयनेपाल टोली’ आमनेसामने
    • बेल संचार

    • ३० बैशाख २०८२, मंगलवार

काठमाडौं।

नेपाल प्रहरीमा एसएसपीबाट डीआईजी पदमा हुने बढुवा प्रक्रिया यतिबेला निकै चर्चामा छ। १० वटा रिक्त स्थानका लागि २७ जना वरिष्ठ प्रहरी अधिकृतबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।

तीन समूहका अधिकृतहरू—२०५४ साल चैत, २०५६ साल असार र २०५८ सालमा सेवा प्रवेश गरेका, तर राष्ट्रिय अनुसन्धान विभाग (राअविव) हुँदै प्रहरीमा आएका अधिकृतहरूबीच टक्कर चर्किएको छ।

बढुवाका आकांक्षीमध्ये २०५४ र २०५६ सालमा लोकसेवाको विधि पार गर्दै प्रवेश गरेका अधिकृतहरूलाई ‘जयनेपाल टोली’ भनेर चिनिन्छ भने राअविवबाट सिधै प्रहरीमा आएका अधिकृतहरू ‘नमस्कार टोली’का रूपमा परिचित छन्।

‘जयनेपाल टोली’ले लेखित, शारीरिक, मेडिकल र अन्तरवार्ताजस्ता प्रतिस्पर्धात्मक चरण पार गरेर प्रहरी सेवामा प्रवेश गरेका हुन्। तर ‘नमस्कार टोली’का अधिकृतहरू राजनीतिक पहुँचका आधारमा प्रहरीमा स्थानान्तरण भएका आरोप छन्। उनीहरू २०५८ सालमा राअविवबाट प्रवेश गरेर पछि मितिको गणना जोडेर सिनियर देखिएका हुन्।

यो समुहले नियमित प्रक्रियालाई छलेर सेवा प्रवेश गरेका कारण धेरैपटक प्रहरी वृत्तिभित्र विवाद सिर्जना गरेको देखिन्छ। अतीतमा यस्तै विवादले गर्दा सर्वोच्च अदालतमा रिट समेत परेको थियो। पछि पावर र पहुँचको कारणले ती रिट खारेज गराइएको प्रहरी वृत्तको दाबी छ।

भर्खरै सम्पन्न एआईजी बढुवामा समेत यिनै कारणबाट प्रक्रिया एक महिना ढिलो भएको थियो। अन्ततः नेपाल प्रहरीले त्यहाँ भने खुला प्रतिस्पर्धाबाट आएका अधिकृतहरूलाई न्याय दिएको थियो।

अब एसएसपी–डीआईजी बढुवामा पनि ऐतिहासिक र निष्पक्ष निर्णयको अपेक्षा गरिएको छ। प्रहरी वृत्तका अनुसार योग्यता, अनुभव, आचरण र अनुशासनका हिसाबले खुला प्रतिस्पर्धाबाट आएका अधिकृतहरू योग्य ठहरिन्छन्।

यो प्रक्रिया निष्पक्ष भए मात्र प्रहरीको मनोबल, भाइचारा र आन्तरिक प्रणालीमा सकारात्मक प्रभाव पर्ने बताइन्छ। अन्यथा पहुँचको बलमा सेवा परिवर्तन गरी सिनियर बन्ने प्रवृत्तिले संस्थागत निष्पक्षता र भविष्यको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठ्ने देखिन्छ।

 

साताकाे चर्चित
सम्बन्धित