भौगोलिक चुनौती चिर्दै व्हीलचेयर बास्केटबलमा कर्णाली प्रथम
भौगोलिक चुनौती चिर्दै व्हीलचेयर बास्केटबलमा कर्णाली प्रथम
    • बेल संचार

    • ३० बैशाख २०८२, मंगलवार

काठमाडौं

कर्णाली प्रदेशको व्हीलचेयर बास्केटबल टिमले विपरीत परिस्थितिको सामना गर्दै दोस्रो प्रदेशस्तरीय प्रतियोगितामा ऐतिहासिक विजय हासिल गरेको छ। कोशी प्रदेशको इटहरीमा सम्पन्न प्रतियोगितामा ७ प्रदेशका टिम सहभागी थिए, तर सबैलाई पछि पार्दै कर्णाली शीर्ष स्थानमा उक्लियो।

यो प्रतियोगिता स्पाइनल इन्जुरी संघ, कोशी प्रदेश को आयोजनामा तथा कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र खेलकुद विकास बोर्ड को सहकार्यमा सम्पन्न भएको थियो।

खेल मात्र होइन, अवसरको द्वार

कर्णाली टिमका संयोजक भरत बी.सी. का अनुसार, “यो प्रतियोगिता हामीलाई खेल्न मात्र होइन, समाजमा आफ्नो पहिचान स्थापित गर्न अवसरको रूपमा आएको थियो।”

उनले भावुक हुँदै थपे, “हामी अपाङ्गता भएका व्यक्ति हौँ भन्ने कारणले खेल्न नहुने, घरमै सीमित रहनुपर्ने सोच आज पनि समाजमा जीवित छ। तर हामीले त्यो सोच भत्कायौँ। हामीले कर्णालीको नाममा इतिहास बनायौँ।”

प्रतिस्पर्धा भन्दा परको लडाइँ: सुविधा अभावको पीडा

यस ऐतिहासिक जितसँगै संयोजक बी.सी. ले कर्णाली प्रदेश सरकारप्रति कटाक्ष समेत गरे। “हामीलाई प्रतिस्पर्धामा पठाउने पत्र त आयो, तर आवश्यक सेवा–सुविधा भने केही व्यवस्था भएन,” उनले भने। अपाङ्गता भएका खेलाडीहरूको सम्मान, पूर्वाधार र बजेटप्रतिको राज्यको बेवास्ता अझै अन्त्य नभएको उनको गुनासो थियो।

उत्कृष्ट प्रदर्शन र राष्ट्रिय सन्देश

प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका रमेश खत्री, प्रशिक्षक सन्जोक थापा र व्यवस्थापक विवेक बी.सी. सहित सम्पूर्ण टोलीलाई बधाइ दिँदै बी.सी. ले भने, “हाम्रो जितले एउटा सन्देश दिएको छ—सम्पन्नता होइन, प्रतिबद्धता जितको आधार हो।”

सरकार र समाजको ध्यानाकर्षण

खेलाडीहरूको यो सफलता केवल पदकको कुरा नभई सामाजिक सोच र राज्यको नीति दुवैमा परिवर्तनको माग हो। संयोजकले कर्णाली प्रदेश सरकार, संघीय सरकार र स्थानीय तह समक्ष अपाङ्गता भएका खेलाडीप्रति यथोचित सम्मान, बजेट र पूर्वाधारको व्यवस्था मिलाउन माग गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित