बैतडी ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ बैतडीको पाटनबाट सुरु गरेको छ। अभियानको उद्घाटनका लागि पाटन पुगेका पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नगरपालिकाले विशेष स्वागत तथा अभिनन्दन गरेको हो।
पाटन नगरपालिकाद्वारा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अभियानको औपचारिक शुभारम्भ गरे। अभियानको नेतृत्व उनी स्वयंले गर्नेछन्।
प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन, महासचिव देव गुरुङ, र सुदूरपश्चिम प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलसहित अन्य शीर्ष नेताहरू पनि बैतडी पुगेका छन्।
यसअघि तराई केन्द्रीत हुलाकी राजमार्ग अभियान सम्पन्न गरिसकेको माओवादी केन्द्रले अब मध्यपहाडी क्षेत्रमार्फत भूगोल र जनसम्पर्क विस्तार गर्ने रणनीति लिएको छ।
अभियान अन्तर्गत विभिन्न जिल्लामा जनसभा, कार्यकर्ता भेला र विकाससम्बन्धी छलफल गरिनेछ। यसलाई संगठन सुदृढीकरण र नयाँ राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिइएको छ।
अभियानको समापन जेठ १० गते पोखरा, कास्कीमा हुनेछ।