काठमाडौं ।
काठमाडौंमा सुरु भएको सगरमाथा संवादका क्रममा विभिन्न देशका प्रतिनिधिहरूले जलवायु परिवर्तनका चुनौतीहरूलाई सामना गर्न मानवताको भविष्यका लागि एकता र ऐक्यबद्धताको आह्वान गरेका छन्।
शुक्रबारदेखि सुरु भएको बहुप्रतीक्षित सगरमाथा संवादको उद्घाटन सत्रमा सहभागी राष्ट्र तथा अन्तरराष्ट्रिय संस्था प्रतिनिधिहरूले विशेष गरी पहाडी क्षेत्रहरूमा जलवायु परिवर्तनका प्रभावबारे गम्भीर चासो व्यक्त गर्दै दीर्घकालीन समाधान खोज्न एकजुट हुनुपर्नेमा जोड दिए।
नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, भुटान, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान लगायतका देशहरूबाट उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन्। त्यस्तै, संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक, सार्क, बिम्स्टेक र इसिमोडका प्रतिनिधिहरूको पनि सक्रिय उपस्थिति रह्यो।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादको ब्यानर अनावरण गर्दै औपचारिक रूपमा गरेका थिए। उनले सो अवसरमा नेपालको तेस्रो राष्ट्रिय निर्धारित योगदान (NDC) सार्वजनिक गर्दै उक्त दस्तावेज कोप–२९ का अध्यक्ष मुख्तार बाबायेभलाई हस्तान्तरण गरे।
कोप–२९ अध्यक्ष तथा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले प्रमुख मन्तव्य दिँदै जलवायु संकटका विविध आयाम र विशेषतः पहाडमा परिरहेका असरबारे प्रकाश पारे। साथै उनले समाधानका सम्भावित उपायहरूबारे धारणा राखे।
भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादव, चीनका स्थायी समितिका उपाध्यक्ष जिओ जी, र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि जलवायु संकटप्रति गम्भीर प्रतिबद्धता जाहेर गर्दै एकजुट प्रयासको आवश्यकता औंल्याए। महासचिव गुटेरेसले भिडियो सन्देशमार्फत मन्तव्य दिएका थिए।
सत्रपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन समारोह तथा पूर्ण सत्र भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको बताउँदै, १३ वटा राष्ट्र र ६ अन्तरराष्ट्रिय तथा क्षेत्रीय संस्थाका गरी कुल १९ प्रतिनिधिमण्डलहरूले जलवायु परिवर्तन, पहाडी क्षेत्रको संवेदनशीलता र मानव भविष्यका विविध आयामबारे धारणा राखेको जानकारी दिइन्।
उनका अनुसार, उद्घाटन सत्रमा विश्वका विशिष्ट नेताहरू, नीति निर्माता, विज्ञ तथा सरोकारवाला संस्थाहरूको सहभागिता उल्लेखनीय रहेको थियो। कार्यक्रममा सहभागी सबैले सगरमाथा संवादजस्तो मञ्च जलवायु समाधानका साझा प्रयासहरूका लागि अत्यन्त सान्दर्भिक रहेको भन्दै प्रशंसा गरेका थिए।