उत्पादनबिनाको वितरण सम्भव छैन : उपसभापति गुरुङको बजेटमा स्पष्ट सन्देश
उत्पादनबिनाको वितरण सम्भव छैन : उपसभापति गुरुङको बजेटमा स्पष्ट सन्देश
    • बेल संचार

    • २ जेष्ठ २०८२, शुक्रबार

काठमाडौँ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यको लगानी वितरणभन्दा बढी उत्पादन र पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै उनले उत्पादनबिनाको वितरणबाट समाजवादको लक्ष्य हासिल हुन नसक्ने स्पष्ट पारे।

गुरुङले वर्तमान आर्थिक व्यवस्थामा उत्पादनभन्दा वितरणमा बढी प्रतिस्पर्धा देखिएको उल्लेख गर्दै यसले राजस्व र सरकारी खर्चबीच असन्तुलन निम्त्याएको बताए। “लोकप्रियतावादी सोच र आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्र नै कमजोर बनाएको छ,” उनले चेतावनी दिए।

उपसभापति गुरुङले राज्यको लगानीले पुँजी निर्माणमा योगदान पुर्‍याउनु पर्ने भन्दै शिक्षा क्षेत्रमा आमूल सुधार आवश्यक रहेको बताए। विदेशमा अध्ययन गर्न लाखौं रुपैयाँ खर्च हुने अवस्था हटाउन देशमै स्तरीय आवासीय विद्यालयहरू स्थापना गर्नुपर्ने उनको भनाइ थियो।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि नयाँ संस्था खोल्नुभन्दा पनि अहिलेका अस्पतालहरूलाई साधनस्रोत, जनशक्ति र व्यवस्थापनको दृष्टिले सुदृढ बनाउनुपर्ने सुझाव उनले दिए। साथै, उनले एकीकृत स्वास्थ्य प्रणालीको विकास गर्न आग्रह गरे, जसबाट बिरामीका पुराना विवरण सजिलै ट्र्याक गर्न सकिनेछ।

बजेटले धार्मिक र साहसिक पर्यटनलाई प्राथमिकता दिनुपर्ने बताउँदै गुरुङले पर्यटनसँग जोडिएका भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन सरकारलाई सुझाव दिए। उनले जलविद्युत्को क्षेत्रमा जलाशययुक्त ठूला आयोजना अगाडि बढाउनुपर्नेमा पनि जोड दिए।

खेतीको सन्दर्भमा उनले रासायनिक मल प्रयोग घटाएर प्राङ्गारिक मलको प्रवर्द्धन गर्नुपर्ने र वनमा खेर गइरहेका बहुमूल्य काठ तथा जडीबुटीको उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।

गुरुङको तर्कमा समृद्धिको आधार सुदृढ उत्पादन, दीर्घकालीन पूर्वाधार विकास र सुशासन हुन्, जसलाई समेट्ने खालको बजेट आवश्यक रहेको उनको भनाइ थियो।

साताकाे चर्चित
सम्बन्धित