जुम्ला,
तिला गाउँपालिका–५ अन्तर्गत पर्ने डुङ्ग्री गाउँमा ५३ घरधुरीका बासिन्दा दशकौँदेखि खानेपानीको अभाव झेल्दै आएका छन्। सम्पूर्ण गाउँमा अहिले पनि एउटै मात्र खानेपानीको धारो रहेको छ।
क्षेत्री समुदायको बसोबास रहेको यस गाउँमा कुनै पनि प्राकृतिक पानीका मुहानहरू नभएकाले खानेपानीको प्रमुख स्रोत यही एक धारो बनिएको हो। स्थानीय कालीबहादुर रावतका अनुसार सो धारोबाट मानिससँगै पशुपन्छीले पनि पानी खाने गर्दछन्।
गाउँको चारै तिर खोलानाला तथा मुल नहुँदा खानेपानीको चरम संकट उत्पन्न भएको हो। गर्मी तथा खडेरीको समयमा धारोमा पानी झिनो मात्रामा बग्ने गर्छ, जसका कारण पानी भर्न लामो लाइन लाग्ने गरेको रावतले जानकारी दिए।
यस्तै, जाडो याममा धारो जमेर पानी रोकिँदा स्थानीयवासीहरू हिउँ पगालेर खानेपानीको जोहो गर्न बाध्य छन्। लामो समयदेखि यस समस्याले गाउँलेहरूलाई असर पार्दै आएको भए पनि समाधानतर्फ कुनै ठोस पहल नभएको स्थानीयको गुनासो छ।