बागलुङमा प्याराग्लाइडिङको सम्भावना प्रचुर, तर पूर्वाधार अलपत्र
बागलुङमा प्याराग्लाइडिङको सम्भावना प्रचुर, तर पूर्वाधार अलपत्र
    • बेल संचार

    • ५ जेष्ठ २०८२, सोमबार

बागलुङ ।

हिमाली भूगोल, उपयुक्त हावा र रमणीय दृश्यावलोकनका दृष्टिले प्याराग्लाइडिङका लागि सम्भावनायुक्त मानिएको बागलुङमा यो साहसिक खेल अझै व्यावसायिक रूपमा सुरु हुन सकेको छैन। यहाँका भरिलाखुरी, पहरेडाँडा, ढोरपाटन उपत्यकालगायत दर्जनौं स्थानमा पटकपटक सफल परीक्षण उडान भए पनि नियमित सेवा सञ्चालन हुन नसकेको हो।

२०७५ सालको बलेवा महोत्सवमा गरिएको सफल उडानले पोखराको सराङ्कोटको विकल्पको रूपमा बलेवालाई स्थापित गर्ने आशा जगाएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारले २०७७ सालमा रु २० लाख खर्चेर प्याराग्लाइडिङ पूर्वाधार निर्माण गर्‍यो। तर, बलेवाको पहरेडाँडामा बनेका विश्रामस्थल, मैदान र शौचालयजस्ता संरचना पाँच वर्षदेखि प्रयोगबिहीन अवस्थामा छन्।

बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल भन्छन्, “पाँच वर्षअघि हामी निकै आशावादी थियौं, तर पूर्वाधार निर्माण भए पनि व्यावसायिक उडान हुन नसक्दा सपना अधुरो रह्यो।”

सिर्फ बागलुङमा होइन, प्रदेश सरकारले पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालगायत स्थानहरूमा पनि प्याराग्लाइडिङ प्रवर्द्धन गर्ने उद्देश्यले बजेट विनियोजन गरेको थियो। तर, ती परियोजनाहरूको हालको अवस्था पनि जस्तै बलेवाकै जस्तो अलपत्र रहेको देखिन्छ।

स्थानीयवासीका अनुसार प्याराग्लाइडिङको व्यवसायिक विकासका लागि हवाई सुरक्षा, सडक पहुँच, प्रवर्द्धन र निजी क्षेत्रको संलग्नता आवश्यक छ। “यहाँ साहसिक पर्यटनका लागि अन्य पूर्वाधार पनि छन्, तर तिनीहरूलाई जोड्ने योजनाबद्ध प्रयास नभएकाले सम्भावना उपयोग हुन सकेको छैन,” एक स्थानीय व्यवसायीको भनाइ छ।

प्याराग्लाइडिङ परीक्षणले सम्भावना पुष्टि गरे पनि त्यसलाई कार्यान्वयनमा रूपान्तरण गर्न अब प्रदेश र स्थानीय सरकारको ध्यान, नीति र लगानी अपरिहार्य देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित