जुम्ला।
कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनमा ढिलाइ गरेपछि सिँजा गाउँपालिकाका निजामती कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।
मंगलबार सिँजा गाउँपालिकाका कर्मचारीले कालो पट्टी बाँधेर पालिका कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन्। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, कर्णाली प्रदेश समितिको आह्वानमा दिउँसो १ बजेदेखि ३ बजेसम्म ‘पेन डाउन’ (कामकाज ठप्प) गर्दै तीन घण्टा विरोध गरिएको संघर्ष समितिका संयोजक गजेन्द्र महतले जानकारी दिए।
संयोजक महतका अनुसार ७ गतेसम्म सरकारले ऐनमा आवश्यक संशोधन प्रक्रिया अघि नबढाए ८ गतेदेखि पूर्णरूपमा सेवा प्रवाह अवरुद्ध गरिने छ। उनले चेतावनी दिँदै भने, “यदि हाम्रो माग सम्बोधन भएन भने स्थानीय तहबाट सेवा लिन आउने सर्वसाधारण नागरिकले सेवा पाउन सक्ने छैनन्।”
कर्मचारीहरूले ऐन संशोधनमा चासो नदिएको भन्दै प्रदेश सरकारप्रति असन्तोष व्यक्त गरेका छन्। उनीहरूका अनुसार वर्तमान कानुनी अन्योलले स्थानीय सेवामा अस्थिरता र अन्यायपूर्ण अवस्था सिर्जना गरिरहेको छ।
सिँजामा देखिएको यो आन्दोलनले अब कर्णाली प्रदेशका अन्य स्थानीय तहमा पनि प्रभाव पार्न सक्ने सम्भावना बढेको छ।