हुम्ला हिमपहिरो पीडितको उद्धारमा सरकार उदासीन : सांसद शाही
हुम्ला हिमपहिरो पीडितको उद्धारमा सरकार उदासीन : सांसद शाही
    • बेल संचार

    • ६ जेष्ठ २०८२, मंगलवार

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले हुम्लाको नाम्खा गाउँपालिका–६ मा गएको हिमपहिरोबाट पीडित नागरिकहरूको अवस्था जटिल रहेको र सरकार उद्धारमा पूर्ण रूपमा निष्क्रिय रहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले कर्णालीका नागरिक पनि नेपालकै नागरिक भएको उल्लेख गर्दै तत्काल उद्धारका लागि सभामुखसमक्ष रुलिङको माग गरे।

उनले सरकारलाई कडा शब्दमा प्रश्न गर्दै भने, “सरकारको दिमाग बन्द भएको हो कि? आँखामा रत्तन्धो लागेको हो? कान सुन्न छाडेको हो? हेलिकप्टर चल्न छाडेको हो?” उनले आरोप लगाए कि मन्त्रीहरूको सवारीका लागि सजिलै हेलिकप्टर परिचालन हुने तर हिमपहिरो पीडितहरूको ज्यान जोगाउन एकवटा हेलिकप्टर पनि पठाउन नसक्नु सरकारको लापरवाहीको प्रमाण हो।

शाहीले चेतावनी दिँदै भने, “यदि कर्णालीलाई यति नै बेवास्ता गर्ने हो भने, म कर्णालीका जनताको प्रतिनिधि हुँ, तपाईंहरूले कर्णालीलाई अलग बनाउनुहोस्, हामी आफैँ सरकार चलाएर देखाउँछौं।”

सरकारको यो व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै उनले हालै सम्पन्न सगरमाथा संवाद कार्यक्रममाथि पनि प्रश्न उठाए। “हिमपहिरोले मान्छे मर्दै छन्, उद्धार छैन, तर यहाँ सगरमाथा संवादजस्तो नाटक भइरहेको छ,” भन्दै उनले कार्यक्रमको औचित्यमै प्रश्न गरे।

साताकाे चर्चित
सम्बन्धित