ग्वार्को ओभरपास निर्माण तीव्र गतिमा, जेठ मसान्तभित्र सवारी चल्ने तयारी
ग्वार्को ओभरपास निर्माण तीव्र गतिमा, जेठ मसान्तभित्र सवारी चल्ने तयारी
    • बेल संचार

    • ७ जेष्ठ २०८२, बुधबार

काठमाडौँ

 ललितपुरको ग्वार्को क्षेत्रमा निर्माणाधीन ओभरपासको काम तीव्र गतिमा अघि बढिरहेको छ। निर्माण कम्पनीका अनुसार, सवारीसाधन चलाउन मिल्ने गरी जेठको अन्त्यसम्म ओभरपास खुला गर्ने लक्ष्यसहित काम भइरहेको छ।

निर्माण कम्पनीले आयोजनाको सम्पूर्ण काम जेठ १५ भित्रै सकाएर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ। यद्यपि, ओभरपास निर्माण सम्झौताअनुसार २०७८ फागुन १२ मा सुरु भई दुई वर्षमा सम्पन्न गर्ने भनिए पनि निर्माण समयमै नसकिएपछि थप म्याद दिइएको थियो।

सम्झौता अनुसार काम २०८० फागुन १२ मा सम्पन्न हुनु पर्ने थियो। तर तोकिएको समयभित्र काम नसकिएपछि सडक विभागले म्याद थप गर्दै २०८१ पुस ८ सम्म कायम गरेको थियो। पछिल्लो समय निर्माण कार्यमा ढिलाइ देखिएपछि सडक विभागले निर्माण कम्पनी आशिष–समानान्तर जेभीलाई पुस महिनादेखि हर्जाना तिराउँदै काम गराइरहेको छ।

ओभरपास निर्माण सम्पन्न भएपछि कलंकी–कोटेश्वर सडकखण्डमा चल्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् भने ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ गन्तव्य हुने सवारीसाधनले ओभरपास मुनिको सडक प्रयोग गर्नेछन्।

यस ओभरपासले चक्रपथको सातदोबाटो–कोटेश्वर खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक मार्गमा सवारी आवागमनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित