जुम्ला
कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनमा ढिलाइ गरेपछि मुगुको खत्याड गाउँपालिकाका निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
जेठ ६ गतेदेखि सुरु भएको आन्दोलन अन्तर्गत कर्मचारीहरूले पालिका कार्यालयअगाडि कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरिरहेका छन्। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, कर्णाली प्रदेश समितिको आह्वानमा दिउँसो १० बजेदेखि १ बजेसम्म ‘पेन डाउन’ (कामकाज ठप्प) गर्दै तीन घण्टे धर्ना दिइएको संघर्ष समितिका संयोजक विजय वलीले जानकारी दिए।
संयोजक वलीका अनुसार यदि जेठ ८ गतेसम्म सरकारले ऐन संशोधन प्रक्रिया अघि नबढाए, ९ गतेदेखि पूर्ण रुपमा सेवा प्रवाह अवरुद्ध गरिने चेतावनी दिएका छन्। “हाम्रो माग सम्बोधन भएन भने स्थानीय तहबाट सेवा लिन आउने सर्वसाधारण नागरिकले सेवा पाउने छैनन्,” उनले भने।
कर्मचारीहरूले ऐन संशोधनप्रति सरकारको बेवास्ता र चासो नदेखाएकोप्रति गुनासो गरेका छन्। उनीहरूका अनुसार विद्यमान कानुनी अन्योलका कारण स्थानीय सेवामा अस्थिरता र अन्यायपूर्ण अवस्था सिर्जना भएको छ।
खत्याडमा सुरु भएको यो आन्दोलनले कर्णाली प्रदेशका अन्य स्थानीय तहमा समेत असर पार्न सक्ने संकेत देखिएको छ। आन्दोलनको क्रममा कर्मचारीहरूले औपचारिक प्रेस विज्ञप्ति समेत जारी गरेका छन्।