भोजपुर ।
मुन्दुम पदमार्गको सुन्दरता अब शब्दमा मात्र होइन, रङ र रेखामा पनि देख्न पाइनेछ। किरात संस्कृति, प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण यो पदमार्गलाई चित्रकारहरूले आफ्नै शैलीमा चित्रित गरेका छन्।
भोजपुरको पर्यटकीयस्थल चखेवामा सम्पन्न भएको ‘टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशाला’मा देशभरका २० जना चित्रकारहरू सहभागी भए। तीन दिनसम्म चलेको यस कार्यशालामा रेडपाण्डा (हाब्रे), किरात संस्कृति झल्काउने तायामा खियामा, चिण्डो (वाबुक), साथै स्थानीय वेशभूषा आदिलाई क्यानभासमा उतारियो।
टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा गरिएको यस कार्यक्रममा ‘क्यानभास’ मार्फत पदमार्गको सौन्दर्य र सांस्कृतिक पक्ष उजागर गर्ने लक्ष्य राखिएको थियो। गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार, मुन्दुम पदमार्गलाई योग र ध्यानका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्न लागिएको छ।
कार्यशालामा तयार गरिएका कलाकृतिहरू काठमाडौंमा प्रदर्शनी गरिनेछ। कार्यशालाको समापन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको प्रमुख आतिथ्यमा गरिएको थियो।
कार्यशालाबाट पदमार्गको प्रचारप्रसार मात्र नभई, कला र संस्कृति संरक्षणमा समेत योगदान पुग्ने विश्वास आयोजकहरूको छ। किरात सभ्यता, स्थानीय जीवनशैली र जैविक विविधताको प्रतिनिधित्व गर्ने पदमार्गलाई दृश्यात्मक रुपमा प्रस्तुत गर्नु स्वयं पर्यटन प्रवर्द्धनको नवीन प्रयास हो।