कनकासुन्दरी गाउँपालिकामा पूर्णखोप सुनिश्चितता र दिगोपनाको औपचारिक घोषणा
कनकासुन्दरी गाउँपालिकामा पूर्णखोप सुनिश्चितता र दिगोपनाको औपचारिक घोषणा
    •  उमेश बुढा

    • ८ जेष्ठ २०८२, बिहीबार

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता: पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ कनकासुन्दरी गाउँपालिकाले बिहीबार पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको औपचारिक घोषणा गरेको छ।

स्वास्थ्य शाखा प्रमुख जङ्गलाल बुढाका अनुसार, पालिकाभित्रका ० देखि १५ महिनासम्मका २०३ बालबालिका र १६ देखि ५९ महिनासम्मका ५८८ बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरिसकेका छन्। वडा तहमा गरिएको सर्वेक्षणमा कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको पुष्टि भएपछि यो घोषणा गरिएको हो।

कार्यक्रममा कनकासुन्दरी–४ का वडा अध्यक्ष तथा सभाध्यक्ष धनमासिंह हमालले खोप अभियान सफल बनाउनेमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी र स्वास्थ्य शाखालाई धन्यवाद दिए। उनले भने, “देशका सबै बालबालिकाले जुनसुकै स्थानबाट पनि खोप सेवा पाउने अधिकार राख्छन्।”

जनस्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम सोनैकाले खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरू सिधै नागरिकका घरमै पुगेको जानकारी दिए। उनले भने, “आजका बालबालिका भविष्यका कर्णधार हुन्। तिनको सुरक्षा सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।”

कार्यक्रमको सुरुआतमा प्रमुख बुढाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा “खोप निःशुल्क पाइन्छ”, “खोप सुरक्षित छ”, “खोपले जीवनको रक्षा गर्छ” जस्ता सन्देशसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र विषयगत शाखाका प्रतिनिधिहरूले गोठिज्युला बजार परिक्रमा गर्दै र्‍याली पनि निकाले।

साताकाे चर्चित
सम्बन्धित