गलकोट।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालप्रति बढ्दो निराशावादी दृष्टिकोणलाई परित्याग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले नेपाल समृद्धितर्फ अघि बढिरहेको बताउँदै आत्मनिर्भर कृषि प्रणाली, घरेलु उद्योग र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
बिहीबारदेखि बागलुङको पातीहाल्नेबाट सुरु भएको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत गलकोटमा आयोजित जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै पहलमा अघि बढेको उल्लेख गर्दै यसले स्थानीय जनतालाई आर्थिक समृद्धिसँग जोड्ने बताए। साथै, लोकमार्गको छिटो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए।
“बागलुङको अछेते–गलकोट सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघि बढेको छ,” उनले बताए, “गलकोट–म्याग्दी जोड्ने सडक निर्माण भए यहाँका जनतालाई प्रत्यक्ष फाइदा पुग्नेछ।” उनले बागलुङ जिल्लामा विकासको ढोका खुलेको भन्दै सडकले आर्थिक गतिशीलता ल्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले हालैको जनसंवाद अभियानले दलित, किसान, मजदुर र उत्पीडित समुदायका मुद्दाहरू उजागर गरेको उल्लेख गर्दै माओवादी केन्द्र मात्रै यस्ता समुदायका समस्याहरू सम्बोधन गर्ने राजनीतिक शक्ति भएको दाबी गरे।
“नेपालमा केही भएन भन्ने सोच गलत हो। विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न सरकारसँग वातावरण बनाउन आग्रह गर्दछु, म साथ दिन तयार छु,” प्रचण्डले स्पष्ट पारे।
त्यस्तै, देशको मुख्य समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै उनले भ्रष्टाचार अन्त्य गर्न माओवादी केन्द्र नेतृत्वको सरकार आवश्यक रहेको विचार राखे।
जनसंवाद कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले शिक्षा, उद्यम तथा सहकारीसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू राखेका थिए, जसको अध्यक्ष दाहालले प्रत्यक्ष जवाफ दिएका थिए। अभियान क्रमशः बुर्तिबाङ, गलकोट र ताराखोला हुँदै सम्पन्न भएको छ।