प्राकृतिक सौन्दर्य र साहसिक सम्भावनाले भरिएको ‘घोर्लेभिर’ अझै ओझेलमै
प्राकृतिक सौन्दर्य र साहसिक सम्भावनाले भरिएको ‘घोर्लेभिर’ अझै ओझेलमै
    • बेल संचार

    • ९ जेष्ठ २०८२, शुक्रबार

इलाम

समुन्द्री सतहदेखि १५००–१७०० मिटर उचाइमा फैलिएको इलामको माङसेबुङ गाउँपालिका–१ स्थित घोर्लेभिर, अद्वितीय चट्टानी संरचना, जैविक विविधता र सांस्कृतिक धरोहरको धनी क्षेत्र हो। तर, पर्याप्त पूर्वाधार र योजनाबद्ध विकासको अभावमा यो क्षेत्र पर्यटकको नजरबाट अझै टाढा छ।

घनाजंगल, अग्ला चट्टान र हरियाली डाँडाबीच फैलिएको १५५ हेक्टर क्षेत्रफलको यो भिर प्राकृतिक सौन्दर्यको खानी जस्तै हो। स्थानीय ज्येष्ठ नागरिक मनबहादुर बुढाथोकीका अनुसार, यहाँ पहिले प्रशस्त घोरल पाइन्थे। त्यही जनावरको नामबाट नै ‘घोर्लेभिर’ को नामकरण भएको हो।

घोर्लेभिर रक क्लाइम्बिङ, पदयात्रा र प्याराग्लाइडिङका लागि अत्यन्त उपयुक्त क्षेत्र हो। यहाँबाट फेवा खोलातर्फ प्याराग्लाइडिङ अवतरणको दूरी पर्याप्त रहेको पर्यटन विज्ञहरू बताउँछन्। स्थानीय समाजसेवी यामकुमार बुढाथोकीका अनुसार, “घोर्लेभिरमा रक क्लाइम्बिङ र ट्रेकिङमार्ग निर्माण गरेर यो क्षेत्र साहसिक पर्यटनको केन्द्र बन्न सक्छ।”

साफ मौसममा घोर्लेभिरको टुप्पोबाट कञ्चनजङ्घा, कुम्भकर्ण हिमालका साथै वरपरका डाँडाकाँडा, हरियाली बस्तीहरू र जीवनशैलीको दृश्यावलोकन गर्न सकिन्छ। यस्तो दृश्यले स्वर्गीय आनन्द दिन्छ भन्नेमा स्थानीय विश्वस्त छन्।

घोर्लेभिर र वरपरका जङ्गलमा घोरल, मृग, चितुवा जस्ता जङ्गली जनावरको बासस्थान रहँदै आएको छ। यहाँ दर्जनौँ गुफा, चेप र ओडार छन् जसमा जनावरहरूले बास बस्ने गर्थे। हालसम्म पनि घोरल र मृग प्रशस्त देखिन्छन्, यद्यपि जैविक विविधता घट्दै गएको स्थानीय गणेश नेपाल बताउँछन्।

यहाँ चिउरी, भोर्ला, लालीगुराँस, असुरो, अमला, कुरिलो लगायत औषधीय जडीबुटीहरू पाइन्छन्। वैज्ञानिक अनुसन्धान, वनस्पतीय पर्यटन र मौरीपालन, जैविक खेतीका लागि यो क्षेत्र अत्यन्त सम्भावनायुक्त छ।

घोर्लेभिरसम्म पुग्न हालसम्म कुनै पक्की सडक छैन। सवारी साधनमार्फत तोभाङ भञ्ज्याङसम्म पुगेर करिब आधा घण्टा उकालो हिँडेपछि मात्रै यहाँ पुग्न सकिन्छ। विद्युत्, खानेपानी र शौचालयको सुविधा समेत विस्तार हुन बाँकी नै छ।

वडाध्यक्ष भूपाल योङहाङका अनुसार, हालसम्म घोर्लेभिरको प्रवर्द्धनका लागि कुनै औपचारिक सम्भाव्यता अध्ययन गरिएको छैन। यद्यपि गाउँपालिकाले लामिडाँडासम्म सडक पुर्‍याइसकेको र आगामी दिनमा घोर्लेभिरलाई पर्यटन केन्द्र बनाउन योजनाबद्ध कार्यक्रम अघि बढाइने जानकारी दिएका छन्।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले घोर्लेभिरको पर्यटन सम्भावनालाई ध्यानमा राख्दै प्रदेश तथा सङ्घीय सरकार समक्ष सम्भाव्यता अध्ययन प्रस्ताव गरिएको बताएका छन्। “पर्यावरण संरक्षणसहित समुदायमा आधारित दिगो पर्यटन विकासका लागि हामी प्रतिबद्ध छौँ,” उनले बताए।

हालै गाउँपालिकाले पालिकाभित्रका १८ वटा ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पदयात्रा अध्ययन सम्पन्न गरेको छ, जसमा घोर्लेभिर पनि प्रमुख प्राथमिकतामा परेको छ।

पर्यटन व्यवसायी रोशन राई भन्छन्, “सरकारी नीतिको स्पष्टता बिना घोर्लेभिरजस्ता सम्भावनायुक्त क्षेत्रहरूको प्रवर्द्धन चुनौतीपूर्ण छ।” उनीजस्ता स्थानीय विज्ञ र व्यवसायीको मतमा यो क्षेत्र योजनाबद्ध रूपमा विकास गर्न सके, इलाम मात्र होइन, नेपालकै गौरव बन्न सक्छ।

घोर्लेभिरको प्रवर्द्धनले स्थानीय युवालाई रोजगारी सिर्जना गर्न, जैविक विविधताको संरक्षण गर्न र समग्र इलामको पर्यटन अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत गर्नेछ।

साताकाे चर्चित
सम्बन्धित