राष्ट्रिय ललितकला प्रदर्शनी : विविधतामा एकता, कलामा पुनर्जागरण
राष्ट्रिय ललितकला प्रदर्शनी : विविधतामा एकता, कलामा पुनर्जागरण
    • बेल संचार

    • ९ जेष्ठ २०८२, शुक्रबार

काठमाडौँ ।
यस वर्षको राष्ट्रिय ललितकला प्रदर्शनी नेपाली कला क्षेत्रको एक विशेष प्रयासका रूपमा चिनिँदैछ — जसमा ‘कलामा विविधता, देशमा एकता’ भन्ने भावनालाई मूर्तरूप दिन खोजिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने यो प्रदर्शनी सातै प्रदेशका कला शैलीलाई समेटेर ‘एक नेपाल, अनेक कला’को झलक प्रस्तुत गर्नेछ ।

प्रदर्शनी संयोजक तथा उपकुलपति लालकाजी लामाका अनुसार प्रत्येक प्रदेशको कला प्रतिनिधित्व गर्ने छुट्टाछुट्टै ग्यालरी रहनेछ । यसरी देशभर छरिएका मौलिक, परम्परागत र समसामयिक कलाहरू एउटै छानामुनि ल्याइनेछ, जसले कला प्रेमीलाई दृश्य मात्र होइन, अध्ययनको पनि अवसर दिनेछ ।

छनोट गरिएका करिब ५०० कलाकृति र आमन्त्रित कलाकारका थप १०० कलाकृति प्रदर्शनीमा समावेश हुनेछन् । लोककला, हस्तकला, शिल्प, वास्तुकला, न्यू मिडिया आर्ट, राउटे समुदायदेखि मधेशका डोम समुदायसम्मका कला प्रदर्शनीमा देख्न पाइनेछ ।

प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ भन्छन् — “यो प्रदर्शनी केवल कलाकृति देखाउने मात्रै होइन, लोपोन्मुख परम्परागत सीप र लोककला पुनर्जागरणको थालनी पनि हो ।” उनका अनुसार प्रदर्शनीमा दैनिक जीवनसँग जोडिएका सामग्रीसमेत समावेश हुनेछन् ।

कुलपति नारदमणि हार्तम्छालीले यो प्रदर्शनी नेपाली ललितकलालाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचानमा पुर्‍याउने प्रयास भएको बताए । उनले भने, “भोक, सोख र लोकलाई सन्तुलनमा राख्दै कलालाई आर्थिक रूपमा पनि योगदान दिन सक्ने बाटो खोजिएको छ ।”

साङ्गीतिक तथा साहित्यिक कार्यक्रम, पुरस्कार वितरण, अरनिको सम्मानदेखि नवप्रतिभा सम्मानसम्म प्रदान गरिने यो प्रदर्शनीले केवल कलाकार मात्र होइन, नेपाली समाजलाई पनि आत्मचिन्तन गराउने अपेक्षा गरिएको छ ।

यसो गर्दा कलाको माध्यमबाट देशभित्रको सांस्कृतिक सम्पदा उजागर हुने मात्र होइन, सम्पूर्ण नेपाललाई विश्व सामु चिनाउने एउटा सार्थक मञ्च पनि बन्नेछ — राष्ट्रिय ललितकला प्रदर्शनी ।

साताकाे चर्चित
सम्बन्धित