देवारगाउँमा राेप्न लागेकाे मार्सी धानकाे बेर्ना पाढिपहिराेले तहसनहस पार्‍यो
देवारगाउँमा राेप्न लागेकाे मार्सी धानकाे बेर्ना पाढिपहिराेले तहसनहस पार्‍यो
    • उमेश बुढा,

    • ९ जेष्ठ २०८२, शुक्रबार

जुम्ला

जुम्लाको हिमागाउँपालिका–१, देवारगाउँमा यस वर्षको मार्सी धान रोपाइँको तयारीमै रहेका किसानहरू असिना झैं बाढीपहिरोले तहसनहस बनाएको छ । जेठ ७ गते बेलुका करिब ६ बजेतिरको अविरल वर्षाले आएको बाढी र पहिरोले खेतबारीमा राखिएको बेर्ना (धानको बिउ) पूर्णरूपमा नष्ट गरिदिएको हो ।

चैत १२ गते लगाइएको बिउले जेठको पहिलो साताबाट रोपाइँ सुरु हुने अपेक्षा गरिएको थियो । तर, बाढीले बेर्ना बगाएपछि किसानहरूको आशामा पानी परेको छ । बर्सेनि चैतको अन्त्यतिर बिउ राखी जेठ–असारमा रोपाइँ गरिँदै आएको देवारगाउँमा यस पटक धान नहुने डर किसानहरूमा छाएको छ ।

वडाध्यक्ष रतन बहादुर शाहीका अनुसार अविरल वर्षासँगै देवारगाउँको खोला एक्कासी बढेर गहिरो बन्यो र खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति पुर्‍यायो । “१४ वटा बेर्ना र ५ वटा गौँमा बाढीले क्षति पुर्‍याएको छ,” वडाध्यक्ष शाहीले जानकारी दिए ।

हर्कमान सार्की, लालु शाही, गोविन्द रोकाया लगायत किसानहरूको धान बाली पूर्णरूपमा नष्ट भएको छ । प्रभावित किसान हर्कमान सार्की भन्छन्, “यो साल धान रोप्न सकिने सम्भावना छैन । अब वैकल्पिक बाली लगाउने सोचमा छौं ।”

स्थानीयहरूका अनुसार खोलाले बगाएर बेर्ना र खेतमा पसेपछि खेत नोक्सानमा परेको हो । यो घटनाले देवारगाउँमा खाद्य सुरक्षामै असर पार्ने देखिएको छ ।

स्थानीय सरकार तथा सम्बन्धित निकायबाट तत्काल राहत र पुनःस्थापना सहयोगको माग गर्दै किसानहरूले यथाशीघ्र पुनः बेर्ना उत्पादनका लागि स्रोत र प्राविधिक सहयोगको आवश्यकता रहेको बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित