नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन ढकालको जोड, बौद्ध पर्यटन प्रवर्द्धनमा जोड
नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउन ढकालको जोड, बौद्ध पर्यटन प्रवर्द्धनमा जोड
    • बेल संचार

    • ९ जेष्ठ २०८२, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउँदै सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले नेपालका दुई छिमेकी राष्ट्र—भारत र चीन—मा ठूलो सङ्ख्यामा रहेका बौद्ध अनुयायीहरूलाई नेपाल भ्रमण गराउन ‘कनेक्टिभिटी’ सुधार गर्नु अपरिहार्य भएको बताए।

उनले भने, “छिमेकी देशका बौद्ध अनुयायीहरू लुम्बिनी र अन्य तीर्थस्थलहरूको भ्रमण गर्न इच्छुक छन्। त्यसअनुसार हामीले योजना बनाउनुपर्ने छ।”

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र उडान पहुँच (कनेक्टिभिटी) दुवैमा ध्यान दिनुपर्ने धारणा राख्दै ढकालले नेपाल एयरलाइन्सको पुनःसंरचना र सुदृढीकरणमा जोड दिए। साथै, उनले नेपालका पर्यटकीय उत्पादनहरूको ‘ब्रान्डिङ’ गर्न र पर्यटक लक्षित प्याकेजहरू विकास गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरे।

अध्यक्ष ढकालले BITM जस्ता कार्यक्रमहरूले नेपाललाई बौद्ध पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न सक्ने विश्वास व्यक्त गरे। उनले यस मार्टलाई भविष्यमा परिष्कृत गरी एक सशक्त ब्रान्डको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

लुम्बिनी तथा अन्य बौद्ध तीर्थस्थलहरूसँग भारतका महत्त्वपूर्ण बौद्ध स्थलहरूलाई जोडेर “बौद्ध सर्किट” विकास गर्नुपर्ने सुझाव दिंदै उनले भने, “विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गराउने सन्देश फैलाउन सके नेपाल आर्थिक तथा सांस्कृतिक रूपमा लाभान्वित हुनेछ।”

साताकाे चर्चित
सम्बन्धित