१२ घण्टापछि कान्तिलोकपथ सडक सञ्चालनमा, बगुवाको बाढीले फेरि डाइभर्सन बगायो
१२ घण्टापछि कान्तिलोकपथ सडक सञ्चालनमा, बगुवाको बाढीले फेरि डाइभर्सन बगायो
    • बेल संचार

    • १० जेष्ठ २०८२, शनिबार

 हेटौंडा ।

काठमाडौंलाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग कान्तिलोकपथ सडक १२ घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ।

शुक्रबार साँझ आएको अविरल वर्षासँगै बगुवा खोलामा आएको बाढीले ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ को सिमानास्थित बागमती पुललाई जोड्ने डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा ठप्प भएको थियो।

मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा साना सवारीका लागि एकतर्फी रुपमा सडक खुलाइएको थियो भने पछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

बाढीका कारण डाइभर्सन बग्दा रातको समयमा गन्तव्यमा जाँदै गरेका यात्रु बाटोमै अलपत्र परेका थिए। मकवानपुर प्रहरीले तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध समेत गरेको थियो।

उल्लेखनीय छ, गत असोजमा आएको भीषण बाढीले बागमती पुलको मकवानपुरतर्फको भाग बगाएपछि उक्त स्थानमा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो। बगुवा खोलाले डाइभर्सन बगाउँदै आइरहँदा यसअघि ५ जेठमा पनि सडक अवरुद्ध भएको थियो।

वर्षायाममा नियमित रूपमा जोखिममा पर्ने यो खण्ड स्थायी समाधानको खोजी गर्नुपर्ने स्थानीयको माग छ।

साताकाे चर्चित
सम्बन्धित