छहरे झरना पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा
छहरे झरना पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा
    • बेल संचार

    • १० जेष्ठ २०८२, शनिबार

म्याग्दी ।

अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको मनमोहक छहरे झरना पूर्वाधार र प्रचारको अभावमा ओझेलमा परेको छ। करीब २०० मिटर अग्लो यो रमणीय झरना पर्यटकको आकर्षण बन्न सक्ने क्षमतामा भए पनि संरचना र प्रचारप्रसारको कमीले गन्तव्यका रूपमा विकास हुन सकेको छैन।

स्वाँतका स्थानीय र होटल व्यवसायी मनबहादुर पुनका अनुसार छहरे झरनासम्म पुग्ने सुरक्षित र व्यवस्थित पदमार्गको अभावमा पर्यटकहरू पुग्न सकेका छैनन्। भिरालो र चिप्लो बाटोले जोखिम पनि थपेको छ।

झरनाको फेदीमा रहेको निलो रंगको ताल, वरिपरि घना जंगल, चराचुरुङ्गीको आवाज, र झरनाको शान्त वातावरणले यहाँको प्राकृतिक सौन्दर्य झनै बढाएको छ। यसै ठाउँमा रहेको भिरमौरीको घारमा स्वाँतबासीहरू हरेक जेठ महिनाको पहिलो हप्ता परम्परागत महशिकारमा लाग्ने गर्छन्।

स्थानीय बलबहादुर तिलिजा पुनका अनुसार छहरे झरनाको छङछङ आवाज, शान्त परिवेश, र एकान्त रमणीयता तनाव मेटाउन उत्कृष्ट स्थल हो। घाम परेपछि देखिने इन्द्रेणी र झरनाको छेउमै रहेको ‘सानो छहरे’ झरनाले पनि थप सौन्दर्य दिन्छ।

स्वाँत गाउँबाट २० मिनेटको पैदलयात्रामा पुगिने यो झरनासम्म माथिल्लो भागसम्म कच्ची सडक पुगेको छ भने गाउँमै होटल र होमस्टे सुविधा पनि उपलब्ध छ।

वडा अध्यक्ष राजेश तिलिजा पुनका अनुसार झरनालाई पर्यटकीय गन्तव्य बनाउन ढुङ्गे सिढी, अवलोकनस्थल र विश्रामस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ। उनले संरक्षण र विकासका लागि वडा कार्यालयले प्राथमिकता दिएको बताए।

छहरे झरना समुचित व्यवस्थापन र प्रवर्द्धन गर्न सके स्वाँत गाउँको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपिने निश्चित छ।

साताकाे चर्चित
सम्बन्धित