काठमाडौं,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टीको नेतृत्व र सांगठनिक संरचना मजबुत बनाउन रिक्त पदहरू तत्काल पूर्ति गर्न माग गरेका छन्। उनले विशेषतः पार्टी सभापति रवि लामिछानेको अनुपस्थितिमा नयाँ व्यक्तिलाई सभापतिमा नियुक्त गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
न्यौपानेले सर्वोच्च अदालतको आदेशपछि लामिछाने केही समयका लागि बाहिर रहने सम्भावना औंल्याउँदै महाधिवेशन नहुञ्जेलसम्मका लागि नेतृत्व तहका पदहरू पूर्ति गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यस सन्दर्भमा उनले पार्टीका उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलाई लिखित सुझाव पत्र समेत पठाएका छन्।
सुझावपत्रमा उनले महामन्त्री, सहमहामन्त्री र रिक्त केन्द्रीय सदस्यहरूको नियुक्तिको माग गरेका छन्। साथै संसदीय दलको नेता चयन, सबै विभाग तथा समितिहरूलाई पूर्णता दिने, शुभेच्छुक संगठनहरू निर्माण गर्ने र ती संगठनहरूलाई भातृ संगठनको सट्टा स्वायत्त रूपले सञ्चालन गर्ने प्रस्तावसमेत राखेका छन्।
न्यौपानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व दिनुपर्ने माग गरेका छन्। यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा आन्दोलन सञ्चालन गर्नुपर्ने र त्यसका लागि सदन र सडक दुवै स्तरमा संघर्ष सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यज्ञमणि न्यौपाने यसअघि पार्टीको अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए। महाधिवेशनको तयारीसँगै महामन्त्री पदमा आकांक्षा राख्दै उनले सो पदबाट राजीनामा दिएका थिए।
हाल रास्वपामा सभापति, महामन्त्री, र सहमहामन्त्री पद रिक्त छन् भने ती पदहरू कार्यवाहकहरूको भरमा सञ्चालन भइरहेका छन्।