पर्वत ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको मोदीखोलामा अब ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ।
राजमार्गको पर्वत खण्ड दुई वर्षअघि कालोपत्र सम्पन्न भइसकेको भए पनि पुलको काम भने अब सुरु हुन लागेको हो।
निर्माण हुन लागेको पुलले मोदी गाउँपालिका–२ को पातीचौर र वडा नं. ६ डिमुवालाई आपसमा जोड्नेछ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रका अनुसार पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुल विभागबाट स्वीकृति प्राप्त भइसकेको छ।
हाल पुल निर्माणस्थलमा रहेका विद्युत् उपकरणहरू हटाउने प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिइन्।
बैसठ्ठी मिटर लामो र ११ मिटर चौडा उक्त आर्क ब्रिज निर्माणका लागि रु ७ करोड ५० लाख लागतमा ठेक्का सम्झौता भइसकेको छ।
यो पुल निर्माणसँगै सो क्षेत्रको यातायात सुविधा थप व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ।