काठमाडौं।
अनुभवी स्टार क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले जर्मनीमाथि पुनरागमन जित निकाल्दै युईएफए नेसन्स लिगको फाइनल यात्रा तय गरेको छ।
जर्मनीको म्युनिखस्थित एलिएन्ज एरिनामा बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले घरेलु टोली जर्मनीलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा रोमाञ्चक मोड लियो। जर्मनीका फ्लोरिन रिट्जले ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। तर त्यो अग्रता धेरैबेर टिक्न सकेन।
पोर्चुगलका फ्रान्सिस्को कोनसेइडोले ६३औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको केही मिनेटमै, ६८औं मिनेटमा नुनो मेन्डेजको लो पासमा ४० वर्षीय रोनाल्डोले निर्णायक गोल गर्दै पोर्चुगललाई जित दिलाए। यो गोल रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करिअरको १३७औं गोल हो।
अब पोर्चुगलले उपाधिका लागि स्पेन र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
स्मरणीय छ, पोर्चुगलले सन् २०१९ मा आयोजना गरिएको पहिलो संस्करणको नेसन्स लिग उपाधि जितेको थियो।