क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकपमा सहभागिता नहुने घोषणा गरे
क्रिस्टियानो रोनाल्डोले क्लब विश्वकपमा सहभागिता नहुने घोषणा गरे
    • बेल संचार

    • २५ जेष्ठ २०८२, आईतवार

पोर्चुगलका कप्तान र अल-नासर क्लबका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी क्लब विश्वकपमा भाग नलिने घोषणा गरेका छन्। उहाँले विभिन्न क्लबबाट प्रस्ताव प्राप्त भए पनि ती सबै अस्वीकार गर्नुभएको छ।

उहाँको वर्तमान सम्झौता साउदी अरेबियाको क्लब अल-नासरसँग आगामी जुन महिनाको अन्त्यमा समाप्त हुँदैछ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मे महिनामा अल-नासर क्लब छनोटमा परेन भने अन्य क्लबहरूसँग रोनाल्डोको सम्भावित सहभागिताको संकेत दिएका थिए।

तर रोनाल्डोले भने, “म क्लब विश्वकपमा हुने छैन। केही क्लबहरूले सम्पर्क गरेका थिए। केही प्रस्ताव राम्रो थिए, तर केही प्रस्ताव खासै महत्त्वपूर्ण लागेनन्। तपाईंले हरेक कुरा गर्न सक्नुहुन्न, हरेक बल समात्न सकिँदैन।”

मे महिनामा अल-नासरको अन्तिम लिग खेलपछि सामाजिक सञ्जालमा “यो अध्याय समाप्त भयो” भन्दै रोनाल्डोले पोस्ट गरेपछि उनी अर्को क्लबमा जाने चर्चा चलेको थियो। यद्यपि बीबीसी स्पोर्टका अनुसार अल-नासरले रोनाल्डोसँगको सम्झौता नवीकरण हुनेमा विश्वास राखेको छ।

आइतबार स्पेनविरुद्ध हुने नेसन्स लिगको फाइनल खेलअघि बोल्दै रोनाल्डोले आफ्नो भविष्यबारे करिब निर्णय भइसकेको बताएका छन्।

रोनाल्डो सन् २०२३ मा म्यानचेस्टर युनाइटेडबाट अलग भएपछि अल-नासरमा आबद्ध भएका थिए। उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्, जसमा पछिल्लो सिजन मात्र ४१ खेलमा ३५ गोल गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित