काठमाडौं
सिजां गाउँपालिका वडा नम्बर ३ निवासी तथा नेपाली काँग्रेस इकाइ सभापति श्री हरिशंकर चौलागाईं मातृशोकमा परेका छन्। गत जेठ १८ गते कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित एकतानगरमा लापरवाहीपूर्वक अटो चलाउने चालकको ठक्करबाट उहाँकी आमाको दुखद निधन भएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार, अटो चालकले बृृद्ध आमालाई पैदल हिँडिरहेको बेला ठक्कर दिएको र त्यसपछि उनीमाथि नै अटो चलाएर गम्भीर घाइते बनाएको थियो। घटना पश्चात चालक भाग्न खोजे पनि केही स्थानीय नागरिकहरूले अटो नियन्त्रणमा लिई उनलाई रोकेका थिए।
गम्भीर घाइते अवस्थामा रहेका आमालाई तत्कालै नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेज लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज नर्सिङ कलेजमा भर्ना गरिएको थियो। करिब दुई दिनसम्म भेन्टिलेटरमा राख्दा पनि उहाँको जीवन जोगाउन सकिएन।
श्री चौलागाईंले यस घटनामा जानाजान लापरवाहीपूर्वक सवारी चलाउने चालकविरुद्ध कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनुपर्ने माग राखेका छन्। साथै, उनले यस घटनामा संलग्न चालक र प्रहरी प्रशासनको उदासीनताप्रति ध्यानाकर्षण गराउँदै मृतक आमाको आत्माको चिरशान्तिको कामना गरेका छन्।
पीडित पक्षले दोषीलाई कारबाही नगरिए न्यायको लागि संघर्ष गर्ने चेतावनी समेत दिएका छन्।
“यदि दोषीलाई कानुन बमोजिम कारबाही भएन भने, हामी न्यायका लागि जे गर्नुपर्छ त्यो गर्न तयार छौँ,” चौलागाईंले भने।