जुम्ला।
मुगु जिल्लाको खत्याड गाउँपालिका–५ मा अवस्थित खेतिमाई ताल ऐतिहासिक, धार्मिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण भए पनि अहिलेसम्म राज्यका कुनै पनि तहबाट यो तालले आवश्यक ध्यान पाएको छैन।
नेपालकै सबैभन्दा ठूलो ताल रारा यही जिल्लामा रहेको सबैलाई थाहा छ। तर राराको छायाँमा रहेका अन्य प्राकृतिक र मौलिकता बोकेका साना तालहरू, विशेषतः खेतिमाई ताल, लामो समयदेखि उपेक्षित छन्।
स्थानीय बासिन्दा मान बहादुर बुढा भन्छन्, “ठूला ताल भएनन् भनेर साना तालहरूको महत्त्व बेवास्ता गर्नु दुर्भाग्यपूर्ण हो। खेतिमाई तालको संरक्षण नगरिएमा यसको मौलिकता हराउँदै जान्छ र यसले स्थानीय पर्यटनमा असर गर्छ।”
प्राकृतिक रूपमा बनेको खेतिमाई ताल पाटन र वनजंगलले घेरिएको छ। यस तालमा स्थानीय समुदायको धार्मिक आस्था गाँसिएको छ, र यो क्षेत्र शान्त, हरियाली र जैविक विविधताले भरिपूर्ण छ। तर सम्बन्धित निकायहरूले यसप्रति चासो नदेखाएको स्थानीयको गुनासो छ।
राजनीतिक नेतादेखि स्थानीय र संघीय सरकारका प्रतिनिधिसम्म कसैले यस तालको प्रचार–प्रसार र संरक्षणमा पहल नगरेकोमा स्थानीयवासी निराश छन्। तालको पर्यटकीय सम्भावनालाई प्रयोगमा ल्याउन सकिएमा आयआर्जन र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
“हाम्रा पहिचानका साना सम्पदा जोगाउने दायित्व सरकारको हो। तर ध्यान नदिनु कमजोरी हो,” बुढा थप्छन्।
खेतिमाई ताल केवल प्राकृतिक सम्पदा होइन, यो स्थानीय संस्कृति, आस्था र जीवनशैलीसँग जोडिएको थलो हो। यसले मुगुको पर्यटनलाई नयाँ गन्तव्यमा रूपान्तरण गर्ने सम्भावना बोकेको भए पनि राज्यका नीतिगत तहहरूबाट आवश्यक पहलकदमी अझै देखिएको छैन।