गायत्री शतकुण्डीय कोटिहोमको प्रभावले पोखरामा धार्मिक पर्यटन प्रवर्द्धन
गायत्री शतकुण्डीय कोटिहोमको प्रभावले पोखरामा धार्मिक पर्यटन प्रवर्द्धन
    • बेल संचार

    • २७ जेष्ठ २०८२, मंगलवार

गण्डकी प्रदेशको पोखरा महानगरपालिका–१७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिर परिसरमा सम्पन्न ऐतिहासिक गायत्री शतकुण्डीय कोटिहोमले पोखराको धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। मानव सेवा फाउन्डेसन नेपालको आयोजनामा वैशाख १७ गतेदेखि सुरु भई डेढ महिना सञ्चालन भएको कोटिहोममा नेपालसहित भारतबाट पनि लाखौं भक्तजन सहभागी भएका थिए।

भक्तजनको आगमनसँगै पोखराका गुप्तेश्वर गुफा, पातले छाँगो (डेभिज फल्स), तालबाराही, विन्ध्यवासिनी मन्दिर, पुम्दीकोट शिव मूर्ति, फेवाताल, सराङकोट, शान्तिस्तूपालगायत धार्मिक र पर्यटकीयस्थलको अवलोकनमा उल्लेख्य वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए। उनका अनुसार गत वर्षको सोही अवधिको तुलनामा गुफा अवलोकन गर्ने पर्यटकको सङ्ख्या १० प्रतिशतले वृद्धि भई एक लाख एक हजार १४४ पुगेको छ।

गुफाभित्र करिब १०० मिटर तल चट्टानी सतहबाट झर्ने पानी र महादेवको मूर्तिले पर्यटकलाई आकर्षित गर्ने गरेको जनाइएको छ। गुफामा पत्रे चट्टानमा देखिने देवदेवीका आकृति, सिद्धार्थ राजमार्गमुनिबाट देखिने प्राकृतिक दृश्यले थप आकर्षण प्रदान गरेको बताइएको छ।

मानव सेवा फाउन्डेसनका अध्यक्ष तथा महायज्ञ संकल्पकर्ता विजयश्री कृष्णमूर्ति महाराजले कोटिहोमले वैदिक धर्म, सांस्कृतिक परम्परा र वैज्ञानिक चेतनालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पोखरालाई धार्मिक र आध्यात्मिक गन्तव्यको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

मन्दिरको करिब ८० रोपनी क्षेत्रफलभित्र निर्माण गरिएको १०० कुण्डमा तीन सय आचार्य–ब्राह्मणद्वारा सम्पन्न हवनमा भक्तजनको अपार सहभागिता रहेको र १० करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको कोटिहोम सहइञ्चार्ज युवक लामिछानेले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित