प्रशान्त वडलाई अटो पार्ट्स सामग्री हस्तान्तरण
प्रशान्त वडलाई अटो पार्ट्स सामग्री हस्तान्तरण
    • उमेश बुढा

    • २८ जेष्ठ २०८२, बुधबार

जुम्ला

सिँजा गाउँपालिका–२, चुलेलगाउँका युवा प्रशान्त वडलाई अटो पार्ट्स सम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ। उद्योग विकास शाखा सिँजाले नेपाल सरकार उद्योग मन्त्रालयअन्तर्गत सञ्चालित सशर्त अनुदान कार्यक्रम ‘लघु उद्यम विकास कार्यक्रम (MEDPA)’ अन्तर्गत उक्त सामग्री सहयोग प्रदान गरेको हो।

उद्योग विकास शाखा सिँजाका प्रमुख नर्मजङ्ग रोकायाका अनुसार, गरिबी निवारणका लागि सिपमूलक कार्यक्रमअन्तर्गत उत्पादनशीलता तथा बजार प्रतिस्पर्धा अभिवृद्धि गर्न प्रविधि र सामग्री हस्तान्तरण गरिएको हो। “बेरोजगार दलित युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै स्थानीय आवश्यकता स्थानीय तहमै पूर्ति गर्ने उद्देश्यले प्रशान्त वडलाई सामग्री प्रदान गरिएको हो,” प्रमुख रोकायाले बताए।

सामग्रीहरूमा दुई थान ब्रेक केस, पाँच थान एक्सिलेटर, दुई थान सिलिण्डर हेड, एक थान इन्जिन, पाँच थान पिस्टन, तीन थान भल्भ, दस थान रिङ, २४ बोतल इन्जिन आयल, १२ बोतल गियर आयल, १० थान चेन स्प्लग, २० थान स्पार्क प्लग, पाँच थान कनेक्टिङ रड, चार थान आयल सिल, दुई थान पिस्टन लगायतका अटो मर्मत सामग्री समावेश छन्।

वडा नम्बर २ का वडा अध्यक्ष तिर्थ वडले स्थानीय युवाको सिप र क्षमताको मूल्यांकन गरी प्रशान्तलाई सामग्री हस्तान्तरण गरिएको जानकारी दिए। उनले सिप र कलालाई सम्मान गर्दै जिम्मेवारीपूर्वक काम गर्न युवालाई आग्रहसमेत गरे।

सामग्री प्राप्त गरेका प्रशान्त वडले यसअघि घरमै पानी घट्ट, मोटरसाइकल, पेट्रोल र बिजुलीबाट चल्ने जीप तथा स्थानीय स्रोत प्रयोग गरेर बिजुली उत्पादनजस्ता कामहरू गरेका थिए। उनले भने, “सामग्रीको अभावले सिपलाई अगाडि बढाउन गाह्रो थियो। अहिले प्राप्त उपकरणले मर्मत कार्यमा हौसला मिल्नेछ।”

हाल वडले ‘दिपिका अटो पार्ट्स एण्ड मर्मत सेन्टर’ संचालनमा ल्याएका छन्, जुन कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक खण्डको चुलेलगाउँमा अवस्थित छ।

साताकाे चर्चित
सम्बन्धित