अपांगता भएका व्यक्तिहरूको खेलकुद विकासमा जावलाखेल व्हीलचेयर क्लबको उदाहरणीय योगदान
अपांगता भएका व्यक्तिहरूको खेलकुद विकासमा जावलाखेल व्हीलचेयर क्लबको उदाहरणीय योगदान
    • बिर बहादुर राना

    • २९ जेष्ठ २०८२, बिहीबार

ललितपुर

अपांगता भएका व्यक्तिहरूको क्षमता उजागर गर्ने र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको जावलाखेल व्हीलचेयर खेलकुद क्लब ले विगत एक दशकदेखि निरन्तर रूपमा अपांगता भएका खेलाडीहरूका लागि खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस क्लबको प्रयासले शारीरिक अपांगता भएका व्यक्तिहरूलाई खेलकुदमा सहभागी गराउँदै समाजमा समावेशिता र समानताको सन्देश फैलाएको छ।

क्लबका अध्यक्ष भरत बी.सी. का अनुसार, क्लबको स्थापना नै समाजमा भोगिएको सामाजिक अपमानको प्रतिक्रिया स्वरूप भएको हो। “सडकमा अपमानित भएको अनुभवपछि म सकारात्मक परिवर्तनको लागि खेलकुदलाई माध्यम बनाउने निर्णयमा पुगेँ,” उनले भने।

स्थापनादेखि राष्ट्रव्यापी उपस्थिति

२०७२ सालमा ललितपुर महानगरपालिका-४ मा दर्ता भएको क्लबले आरम्भमा सामान्य साधनस्रोत, पुराना स्पोर्ट्स व्हीलचेयर र विद्यालयका खाली मैदानमा अभ्यास गर्दै यात्रा शुरू गरेको थियो। आजको दिनमा २५–३० जना महिला तथा पुरुष खेलाडीहरू नियमित अभ्यासमा सहभागी छन्। निरन्तर अभ्यास र मेहनतको फलस्वरूप क्लबका खेलाडीहरूले राष्ट्रिय स्तरका प्रतियोगितामा विजेता वा उपविजेता स्थान हासिल गर्दै आइरहेका छन्।

नीति र पूर्वाधारको माग

क्लबले ललितपुर महानगरपालिकाद्वारा आयोजना गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ का नीति, कार्यक्रम तथा बजेट छलफल कार्यक्रममा भाग लिँदै खेलकुद प्रवर्द्धनका लागि महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ। प्रमुख सुझावहरूमा स्पोर्ट्स व्हीलचेयरको खरिद, ‘मेयर कप’ प्रतियोगिता सञ्चालन, वडा-स्तरीय खेलकुद कार्यक्रम र विद्यालयहरूसँग सहकार्यमा अभ्यास स्थल सुनिश्चित गर्नु पर्ने माग समावेश छन्।

क्लबले अपांग अधिकार ऐन २०७४, अपांग संरक्षण ऐन २०३९ तथा UNCRPD का मापदण्डअनुसार अपांगता भएका व्यक्तिहरूलाई खेलकुदमा सहभागी हुने पूर्ण अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ।

पारा खेलकुदमा नेपालको शान

हालका वर्षहरूमा नेपाली पारा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा पदक जितेर देशको नाम उँचो बनाइरहेका छन्। २०१८ मा राजु काफ्लेले रजत पदक र २०२३ मा प्रमिला कुमारीले कांस्य पदक जिते भने हालै पलेशा गोवर्धनले पेरिस २०२४ पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक कांस्य पदक जितेकी छन्।

सामाजिक परिवर्तनका संवाहक

क्लबले अपांगता भएको देख्दा हेप्ने सामाजिक धारणा परिवर्तनमा ठूलो भूमिका खेलेको अध्यक्ष बी.सी. बताउँछन्। “अब त दर्शकहरू आफैं टिकट काटेर खेल हेर्न आउँछन्,” उनी भन्छन्, “यो परिवर्तन खेलकुदकै कारण सम्भव भएको हो।”

क्लबले आफ्नो विकास यात्रामा सहयोग पुर्‍याउने St. Xavier’s School, ENGAGE, सक्षमता विकास समाज, The Rose International Fund for Children, प्रयास नेपाल – ललितपुर र Ian Attfield लगायत सबै संस्था र व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ।

साताकाे चर्चित
सम्बन्धित