ललितपुर ।
सभामुख देवराज घिमिरेले मातृभाषा संरक्षण र प्रवर्द्धनका लागि राज्यले आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा शुक्रबार ललितपुरमा सुरु भएको दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन उद्घाटन गर्दै उनले मातृभाषा पत्रकारितामा देखिएका चुनौतीहरूप्रति सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।
“अन्तरराष्ट्रिय सम्मेलनबाट तयार हुने दस्तावेजले मातृभाषा संरक्षण र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ,” सभामुख घिमिरेले भने, “देशका १२४ जातजाति र लोपोन्मुख समुदायहरूको संरक्षणका लागि प्रयास भइरहेका छन्। रासस, सार्वजनिक प्रसारण संस्था र गोरखापत्र संस्थानले ६२ भाषाको संरक्षणमा योगदान दिएका छन्, जुन सकारात्मक हो।”
उनका अनुसार यस्तो सम्मेलनले विभिन्न जातजातिका संस्कृतिको संरक्षण तथा विचार आदान–प्रदानमा मद्दत पुर्याउने विश्वास लिइएको छ। सम्मेलन नेपालमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, प्रवृत्ति तथा अन्तर्राष्ट्रिय अनुभवका विषयमा छलफल गर्ने थलो हो भन्ने उनको भनाइ थियो।
सभामुख घिमिरेले नेपालमा मातृभाषामा पत्रकारिता सुरु गर्ने प्रथम पत्रकार धर्मदित्य धर्माचार्य (जगतमान वैद्य) को योगदानको स्मरण गर्दै सम्मेलनको विशेष महत्व रहेको उल्लेख गरे।
मातृभाषामा सूचनाको पहुँच प्रभावकारी
सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टले मातृभाषा पत्रकारिताले समुदायमा सूचना तथा समाचार प्रवाहमा प्रभावकारी भूमिका खेलेको बताए।
सम्मेलनका संयोजक एवं नेवा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले मातृभाषा पत्रकारिताले नेपालका राजनीतिक परिवर्तनहरूमा उल्लेख्य योगदान पुर्याएको धारणा राखे। उनले संविधानले नेपालका सबै भाषालाई राष्ट्रभाषाको मान्यता दिएको प्रावधानले मातृभाषा पत्रकारितालाई सम्बोधन गरेको बताए।
दबूका महासचिव के के मानन्धरले १३ वर्षअघि स्थापना भएको संस्थाले पत्रकार हकहित, अभिव्यक्ति स्वतन्त्रताको पैरवी र समावेशी पत्रकारिता प्रवर्द्धनमा निरन्तर सक्रिय रहेको जानकारी दिए।
यसअघि, २०८१ साल जेठ १९ र २० गते प्रथम अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको थियो। दोस्रो सम्मेलनमा पनि विविध मातृभाषाका पत्रकारहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।