कृषि विकास बैंक ‘ए’ को दोहोरो उपाधि जित, फुटसलमा ऐतिहासिक सफलता
कृषि विकास बैंक ‘ए’ को दोहोरो उपाधि जित, फुटसलमा ऐतिहासिक सफलता
    • बेल संचार

    • ३० जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा सम्पन्न १४औं कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत फुटसलमा कृषि विकास बैंक ‘ए’ ले ऐतिहासिक उपलब्धि हात पारेको छ। बुधबार सम्पन्न फाइनल खेलमा बैंकले पुरुष तथा महिला दुवै विधामा उपाधि जित्दै दोहोरो सफलता प्राप्त गरेको हो।

पुरुषतर्फको फाइनलमा कृषि विकास बैंक ‘ए’ ले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले हरायो। निर्धारित १–१ को बराबरीपछि खेल पेनाल्टीमा पुगेको थियो। त्यस्तै तेस्रो स्थानको लागि नेपाल वायु सेवा निगमले काठमाडौं खानेपानी लिमिटेडलाई २–० गोलले पराजित गर्दै कांस्य पदक हात पारेको छ।

महिलातर्फ पनि पेनाल्टी सुटआउट नै निर्णायक बन्यो। कृषि विकास बैंक ‘ए’ की महिलाहरूले नेपाल बैंक लिमिटेडमाथि ५–४ को जित निकाल्दै उपाधि उचाले।

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए।प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टोलीहरूले नगद पुरस्कार समेत प्राप्त गरे। पुरुष विधामा विजेता, उपविजेता र दोस्रो उपविजेताले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार रुपैयाँ प्राप्त गरे भने महिला विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ हात पारे।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा सम्पन्न प्रतियोगितामा कृषि विकास बैंकको दुवै विधामा देखिएको उत्कृष्ट प्रदर्शनले संस्थागत खेलकुदमा यसको बलियो उपस्थिति र प्रभुत्व पुष्टि गरेको छ।

साताकाे चर्चित
सम्बन्धित