कोहलपुर–१ का ८६ अव्यवस्थित बासिन्दालाई लालपुर्जा वितरण, थप ७७४ परिवारलाई असार ५ देखि वितरण थालिने
कोहलपुर–१ का ८६ अव्यवस्थित बासिन्दालाई लालपुर्जा वितरण, थप ७७४ परिवारलाई असार ५ देखि वितरण थालिने
    • बेल संचार

    • १ असार २०८२, आईतवार

कोहलपुर

कोहलपुर नगरपालिका वडा नं. १ मा वर्षौंदेखि बसोबास गर्दै आएका ८६ जना अव्यवस्थित बसोबासीले अन्ततः आफ्नो जग्गाको अधिकार प्राप्त गरेका छन्। भूमि समस्या समाधान आयोग, जिल्ला समिति बाँकेले उनीहरूलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको हो।

आयोगका जिल्ला अध्यक्ष घननाथ खनालका अनुसार आयोग अव्यवस्थित तथा सुकुम्बासी नागरिकलाई कानुनी रूपमा जमिनको धनी बनाउने अभियानमा तीव्र गतिमा अघि बढिरहेको छ। “हामीले पाएको जिम्मेवारीअनुसार जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेका छौँ,” अध्यक्ष खनालले बताए।

आगामी असार ५ गतेदेखि कोहलपुर–१ का थप ७७४ अव्यवस्थित बसोबासीलाई पनि लालपुर्जा वितरण गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकाले भूमि समस्या समाधानमा आवश्यक समन्वय र सहयोग गर्न सधैं तत्पर रहेको बताए। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आयोगको प्रयासमा स्थानीय तह, जनप्रतिनिधि र राजनीतिक दलहरूको जिम्मेवार सहभागिता आवश्यक रहेकोमा जोड दिए।

जिल्ला समितिले हालसम्म कोहलपुर–१ मा ११७ भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिसकेको छ। बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी तथा नरैनापुर गाउँपालिकामा आयोगले प्रक्रियागत रूपमा भूमि समस्या समाधानका काम अघि बढाइरहेको जनाएको छ।

अध्यक्ष खनालले फिल्डमा खटिएका प्राविधिकलाई सघाउन स्थानीय तह तथा सरोकारवालालाई आह्वान गर्दै सानातिना विवादमा अल्झन नहुने स्पष्ट पारे।

साताकाे चर्चित
सम्बन्धित