बुटवल।
भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठान जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार, सो बिदा ती जिल्लामा बसोबास गर्ने सम्बन्धित समुदायको सांस्कृतिक र धार्मिक महत्वलाई ध्यानमा राखी दिइएको हो।
भूमे पर्व मगर समुदायको परम्परागत तथा सांस्कृतिक पर्व हो, जसलाई विशेष महत्वका साथ मनाइन्छ। यस पर्वमा प्रकृतिप्रति सम्मान, सामूहिक पूजाआजा र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ।
प्रदेश सरकारले विगत वर्षहरूमा पनि यस पर्वको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ। यस निर्णयबाट मगर समुदायमा उत्साह थपिएको छ भने सांस्कृतिक विविधताको सम्मानप्रति सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।