क्लब विश्वकपमा पीएसजीको धमाकेदार सुरुवात, एट्लेटिको म्याड्रिड ४–० ले पराजित
क्लब विश्वकपमा पीएसजीको धमाकेदार सुरुवात, एट्लेटिको म्याड्रिड ४–० ले पराजित
    • बेल संचार

    • २ असार २०८२, सोमबार

काठमाडौं।

 हालै यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेर आफूलाई युरोपको उत्कृष्ट क्लब सावित गरेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फिफा क्लब विश्वकपमा पनि शानदार सुरुवात गरेको छ। अमेरिकामा जारी प्रतियोगितामा पीएसजीले आफ्नो पहिलो खेलमै स्पेनिस पावरहाउस एट्लेटिको म्याड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै समूह चरणको पहिलो स्थान कब्जा गरेको छ।

८० हजारभन्दा बढी दर्शकको उपस्थितिमा खेलिएको उक्त प्रतिस्पर्धामा पीएसजीले प्रारम्भदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको १९औँ मिनेटमा फाबियन रुइजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा भिटिन्हाले दोस्रो गोल थप्दै पीएसजीलाई २–० को सहज स्थिति बनाए।

दोस्रो हाफमा पनि पीएसजीको दबाब कायमै रह्यो। खेलको ८७औँ मिनेटमा मैदानमा दोस्रो हाफमा प्रवेश गरेका सेनी मायुलुले टोलीका लागि तेस्रो गोल गरे। त्यसपछि, इन्जुरी समयको सातौँ मिनेटमा ली काङ–ईनले चौथो गोल थप्दै पीएसजीको जित सुनिश्चित गरे।

यो जितसँगै पीएसजी समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। क्लब विश्वकपमा कुल आठ समूह छन्, जसमा प्रत्येक समूहमा चार–चार टोली रहेका छन्। समूह चरणपछि प्रत्येक समूहका दुई शीर्ष टोली अघिल्लो चरणमा प्रबेश गर्ने छन्।

खेलभरि एट्लेटिको म्याड्रिड कमजोर देखिएको थियो। पीएसजीको आक्रामक रणनीति र प्रभावकारी खेलशैलीसँग एट्लेटिको जुध्न असमर्थ रह्यो, जसले उनीहरूको सुरुवात नै कठिन बनाएको छ।

साताकाे चर्चित
सम्बन्धित