काठमाडौँ नजिकै साहसिक पर्यटकीय गन्तव्य: वनजङ्गल एडभेञ्चर
काठमाडौँ नजिकै साहसिक पर्यटकीय गन्तव्य: वनजङ्गल एडभेञ्चर
    • बेल संचार

    • ४ असार २०८२, बुधबार

काठमाडौँ ।

काठमाडौँ उपत्यकासँगै जोडिएको तारकेश्वर नगरपालिका–३ स्थित पाँचमाने क्षेत्र साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। यहाँ स्थापना गरिएको ‘वनजङ्गल एडभेञ्चर’ले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउँदै लगेको छ।

पर्यटन क्षेत्रमै पहिलो पटक नेपालमा रोलर कोस्टरको अनुभव गराउन थालेको यो गन्तव्यमा जिपलाइन, रक क्लाइमिङ, बञ्जी जम्प, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइरोप कोर्ष, किड्स एडभेञ्चर कोर्ष, ट्रिपटप एडभेञ्चर, र जाइन्ट स्वीङ लगायतका गतिविधिहरू समावेश छन्।

काठमाडौँको रिङरोड क्षेत्रभित्र बसोबास गर्नेहरूका लागि सहज दूरीमा रहेको यस गन्तव्यले साहसिक खेलप्रेमीलाई टाढा जानुपर्ने बाध्यता अन्त्य गरेको छ। ककनी राजमार्ग अन्तर्गत रिङरोड बाइपासबाट करिब १० किलोमिटर टाढा रहेको वनजङ्गल एडभेञ्चर ३० रोपनी क्षेत्रफलमा फैलिएको छ।

सञ्चालक एलिसा ढकालका अनुसार आठ महिनादेखि सेवा सुरू गरेको यस एडभेञ्चर स्पटले प्रकृति र रोमाञ्चकता दुबै एकसाथ अनुभव गर्न चाहनेहरूलाई लक्षित गर्दै सेवा दिइरहेको छ। उनका अनुसार प्रत्येक खेल खेलाउन पर्यटन विभागबाट अनुमति प्राप्त गरिएको छ भने सहभागी सबै खेलाडीको बीमा गरिएको छ।

पर्यटकका लागि यहाँ ११ वटा टेन्ट र एक मौलिक नेपाली घरको बसोबास सुविधा छ। मौलिक घरमा ढिकी, जाँतो, हलो लगायत कृषकहरूले प्रयोग गर्ने परम्परागत सामग्रीसमेत प्रदर्शन गरिएको छ, जसले स्थानीय संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्य लिएको छ।

ढकालका अनुसार भारतीय कम्पनी ‘अक्सो कन्सल्टेन्सी’को प्राविधिक सहकार्यमा एक वर्षभित्र निर्माण सम्पन्न गरिएको यो पूर्वाधार करिब छ करोड रुपैयाँको लगानीमा आफ्नै जग्गामा निर्माण गरिएको हो।

शुक्रबार र शनिबार विशेषगरी आन्तरिक पर्यटकको भीड देखिने यहाँको साहसिक पर्यटन प्याकेजप्रति युवावर्गको आकर्षण दिनप्रतिदिन बढ्दो छ।

साताकाे चर्चित
सम्बन्धित