कोरियाबाट फर्किएर भोजपुरका थापा व्यावसायिक खुर्सानी खेतीमा
कोरियाबाट फर्किएर भोजपुरका थापा व्यावसायिक खुर्सानी खेतीमा
    • बेल संचार

    • ४ असार २०८२, बुधबार

 भोजपुर ।

 वैदेशिक रोजगारी सकेर स्वदेश फर्किएका भोजपुरका रेवतीरमण थापा अहिले व्यावसायिक कृषि क्षेत्रमा सक्रिय छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ का थापा दक्षिण कोरियामा १० वर्ष काम गरेर फर्किएपछि अकबरे खुर्सानीखेतीमा समर्पित भएका हुन्।

थापाले भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जमिन भाडामा लिएर व्यावसायिक कृषि थालेका छन्। उनले कोरियामा सिकेको प्रविधि र अनुभवलाई प्रयोग गर्दै आफ्नै देशमा सम्भावना देखेर कृषि व्यवसायमा हात हालेका हुन्।

“कोरियामा मेरो आम्दानी राम्रै थियो,” थापाले भने, “तर आफ्नै देशमा केही उदाहरणीय काम गर्ने सोचले अब कृषिमा भविष्य खोजिरहेको छु।”

हाल उनले भाडामा लिएको जमिनमा १० हजार अकबरे खुर्सानीका बिरुवा लगाएका छन्। उनको भनाइमा, गत वर्षको जस्तै खुर्सानीको बजार मूल्य पाउने हो भने आफूले वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य लिएका छन्।

उनका अनुसार विदेश जानुको सट्टा स्वदेशमै सम्भावना खोज्ने हो भने कृषि पनि राम्रो रोजगारी बन्न सक्छ। “विदेश मोह बढ्दो अवस्थामा मैले कृषिमा सफल भएर युवालाई वैकल्पिक बाटो देखाउन खोजेको छु,” उनले बताए।

साताकाे चर्चित
सम्बन्धित