जुम्ला ।
सिँजा गाउँपालिका–६ काडागाउँका तिर्थ बुढाको परिवारका पाँच सदस्य बुधबार राति अचानक बेहोस भएका छन्। घरमा बेलुकाको खाना खाइसकेपछि श्रीमती र चार सन्तानमा एकैपटक स्वास्थ्य समस्या देखिएपछि उनीहरूलाई राति नै अस्पताल ल्याइएको हो।
बेहोस हुनेमा ३२ वर्षीया नैनकली बुढा, १२ वर्षीया प्रतिक्षा बुढा, १० वर्षीया प्रतिमा बुढा, ५ वर्षीया प्रकृति बुढा र २ वर्षीय युगान्त बुढा रहेका छन्। परिवारका प्रमुख तिर्थ बुढा भने घटनाको समयमा सदरमुकाम खलंगा बजारमा थिए।
तिर्थ बुढाले बताएअनुसार, “बेलुकी दही र गहुँको रोटी खाइसकेपछि सबैमा आँखा पोल्ने, पेट पोल्ने र आन्द्रा बटारिने लक्षण देखियो। त्यसपछि सबै बेहोस भए।” राति १२ बजे एम्बुलेन्समार्फत जुम्ला अस्पताल (प्रतिष्ठान) ल्याइएको र अहिले उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनाको पुष्टि गर्दै बेहोस हुनुको कारण अझै नखुलेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।
हाल पीडितहरूको अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको परिवार स्रोतले जनाएको छ।