जुम्ला ।
हिमा गाउँपालिका–१ स्थित कालिका आधारभूत विद्यालय, देवारगाउँमा तेस्रो पटक ‘पढाइ मेला’ आयोजना हुने भएको छ। असार १३ र १४ गतेका लागि तय गरिएको यो मेलाको उद्देश्य शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य र अनुभव साटासाटको वातावरण तयार गर्नु हो।
हिमा गाउँपालिकाको संयोजनमा आयोजना हुने मेलामा विद्यार्थीहरूका सिर्जनात्मक प्रदर्शनी, नविन शैक्षिक गतिविधिहरू, शिक्षक–अभिभावक अन्तरक्रिया, तथा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने विद्यालय प्रशासनले जनाएको छ।
कालिका विद्यालयका प्रधानाध्यापक प्रेम हमालका अनुसार, मेलालाई सफल बनाउन सम्पूर्ण समुदायको सक्रिय सहभागिता अपेक्षित छ। “विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, राजनीतिज्ञदेखि सर्वसाधारण सबैको भूमिका समानरूपमा महत्वपूर्ण रहनेछ,” उनले भने।
मेला स्थलमा तयारी तीव्र रूपमा भइरहेको छ।
सबैलाई निमन्त्रणा छ — आउनुहोस्, सहभागिता जनाऔं, शिक्षालाई अझ प्रभावकारी बनाऔं!