गोरखा ।
सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकको सडक खण्ड भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
गत राति परेको अविरल वर्षापछि दुईतर्फी सवारी आवागमन ठप्प भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार, “गत वर्ष सामान्य क्षति पुगेको उक्त सडकको मर्मत समयमा नभएकाले यो वर्ष थप क्षति भएको हो । अहिले सानाठूला सबै चारपाङ्ग्रे सवारीसाधन चल्नै नसक्ने अवस्था छ ।”
गाउँपालिकामा प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध हुँदा स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन् । मोटरसाइकल र पैदलयात्रुहरू जोखिम मोल्दै सडक पार गर्न बाध्य छन् ।
यता सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि पुनर्निर्माण कार्य सुरु गरे पनि अविरल वर्षाका कारण काम प्रभावित भएको जनाइएको छ ।