स्वनामधन्य महामानवको नाममा विकास योजनामा निरन्तरता — उपप्रधानमन्त्री सिंह
स्वनामधन्य महामानवको नाममा विकास योजनामा निरन्तरता — उपप्रधानमन्त्री सिंह
    • बेल संचार

    • १० असार २०८२, मंगलवार

काठमाडौँ ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विगतदेखि नै स्वनामधन्य महामानवहरूका नाममा विभिन्न विकास योजना सञ्चालन हुँदै आएको बताउनुभएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सिंहले यस वर्ष पनि ती महामानवहरूको सम्झनामा बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो।

मन्त्री सिंहका अनुसार, देश र जनताको हितका लागि आफ्नो जीवन अर्पण गरेका महान व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्न राज्यले सदियौँदेखि उनीहरूको नाममा योजनाहरू अघि बढाउँदै आएको हो। ‘नेताहरू अब व्यक्तिभन्दा बढी राज्यका प्रतीकका रूपमा रहेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व हो।’

सांसदहरूले गणेशमान सिंहको नाममा बढी बजेट विनियोजन भएको विषयमा गरेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले जवाफ दिनुभयो कि राणा शासनकालमा थुनिएका नेपाली जनतालाई स्वतन्त्र र सार्वभौम नागरिक बनाउने लामो सङ्घर्षमा बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदनकुमार भण्डारीलगायतका नेता तथा नेतृहरूको योगदान अमूल्य रहेको छ। साथै मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साधना प्रधान र साहना प्रधानजस्ता महिलाहरूको सङ्घर्ष पनि अविस्मरणीय रहेको उल्लेख गर्नुभयो।

राणा र शाहरुको निरङ्कुश शासनकालमा यी महापुरुषहरूको नाम लिनसमेत अपराध मानिन्थ्यो। लोकतन्त्र पुनःस्थापित भएपछि मात्रै राष्ट्रले उनीहरूको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो। सिंहले भन्नुभयो, ‘लोकतन्त्रका नायकहरूको नामप्रति कसैलाई द्वेष हुनु हुँदैन। हामीले तिनको योगदानको ऋण तिर्न नसकिए पनि कृतज्ञता व्यक्त गर्न सकिन्छ।’

साताकाे चर्चित
सम्बन्धित