नयाँ दिल्ली ।
भारतले इरान र इजरायलबीच मंगलबार बिहानदेखि लागू भएको युद्धविरामलाई सकारात्मक कदमको रूपमा स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त युद्धविरामका लागि अमेरिकी नेतृत्वमा भएको पहलको प्रशंसा गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “हामी क्षेत्रीय सुरक्षा र स्थायित्वबारे गम्भीर चिन्तित छौँ। तर युद्धविरामको समाचार र यसलाई सम्भव बनाउन संयुक्त राज्य अमेरिका र कतारले खेलेको भूमिकालाई सराहना गर्दछौँ।”
मन्त्रालयले संवाद र कूटनीतिक माध्यममार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै भन्यो, “हामी स्पष्ट रूपमा दोहोर्याउन चाहन्छौँ कि यस क्षेत्रमा रहेका विभिन्न द्वन्द्वहरूको समाधान संवाद र कूटनीतिबाट मात्र सम्भव छ। भारत यी प्रयासमा सहयोग गर्न तयार छ र सबै सरोकारवालाहरूले दीर्घकालीन शान्ति र स्थायित्वका लागि अग्रसर हुने विश्वास लिएको छ।”
उल्लेखनीय छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धविरामको घोषणा गरेका थिए, जुन मंगलबार बिहानबाट लागू भएको हो।